सूचनाको शक्ति - The Power Of Information

        

दलितमाथि दिनदिनै दमन, न्याय पाउनै सकस

बझाङको वित्थडचिर गाउँपालिका–७ का पुड्के ओखेडाको निर्माणाधीन घर गाउँलेले भत्काइदिएको तस्बिर भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । दलितले ब्राह्मणको घर नजिक बनाएको भन्दै निर्माणाधीन घर भत्काएको बताइएको छ । तीन दर्जनभन्दा बढी गैरदलितले उक्त घर भत्काइदिएका हुन् ।

दलित आफ्नोभन्दा माथिल्लो भागमा बस्न लागेको भन्दै घर भत्काइएको पीडित पुड्के ओखेडाले बताए । साउन १० गते बुधवार ११ बजे निर्माण भइरहेको घर सोही गाउँका ब्राह्मणहरूले तोडफोड गरेका हुन् । ‘मैले २५ वर्षदेखि भोगचलन गर्दै आएको अर्को मान्छेबाट किनेको जग्गा हो, अहिले घर बनाउन थालेको थिएँ,’ उनले भने ।

गाउँमा रहेका ब्राह्मण आएर ‘तँ डुम दलित, हामीभन्दा माथि बस्न मिल्दैन, तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै गाली गलौज गरेको र भएको बालीनालीसमेत नष्ट गरेको उनको आरोप छ । ओखेडाको घर कृष्ण जोशी, भवानी जोशी र कित्थे जोशीको नेतृत्वमा पुगेका ३०–४० जनाको टोलीले भत्काइदिएको पीडित पुट्केका छोरा करनले बताए ।

यस प्रकरणमा अहिले तीन जनालाई अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयको प्रतिवेदन (२०६८) ले प्रहरीले सकेसम्म घटनाको जाहेरी नै नलिने, लिए पनि मिलापत्रमा टुंग्याउने गरेका कारण दलितले न्याय पाउन नसकेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०९:२४