सूचनाको शक्ति - The Power Of Information

        

गर्दनको दुखाइ निको पार्न के गर्ने ?

लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पुर्याउँछ । यसको सबैभन्दा धेरै असर गर्दनमा पर्छ ।

हामीले दिनमा जम्मा एक–दुई पटक गर्दन घुमाउँछौं होला । अनि त गर्दन दुख्ने र अनेकथरी रोग लाग्ने त भइहाल्छ नि । हामी गर्दनको पीडा निको गर्ने केही योगासनहरूको चर्चा गर्दैछौं ।

बालासन

यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ । यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस् । अब शिरलाई जमीनमा पुर्याउने प्रयत्न गर्नुस् ।

आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस् । त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ । नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस् ।

यस स्थितिमा १५–२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस् । यो आसन गर्दा गर्दनको पीडा हराउँछ र मन पनि शान्त हुन थाल्छ अनि कम्मर, तिघ्रा र पिडुँलाहरू लच्किलो हुन थाल्छन् ।

मत्स्यासन

यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ । यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस् । अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस् ।

आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस् । जतिबेर यस अवस्थामा रहन सक्नुहुन्छ रहनुस् अनि सामान्य स्थितिमा फर्किनुस् ।

विपरीतकर्णी आसन

यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ । यो आसन गर्नका लागि ढाड पल्टाउनुस् । आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस् ।

आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस् । केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस् । यसबाहेक मार्जरी आसन, भुजंगासन र शवासनले पनि पीडा हटाउन मद्दत गर्छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०८:४१