सूचनाको शक्ति - The Power Of Information

        

लोकसेवा आयोगको नाममा नक्कली सूचना, एक हजारले परीक्षा दिँदा पनि बेखबर

बाँके खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपैयाँ तिरेर फाराम भरे । लिखित परीक्षा दिनका लागि उनी जेठ महिनाको अन्तिमतिर धनगढी पुगे ।

धनगढी पुगेपछि तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उनको भेट भयो र डाँगीमार्फत नै उनले जानकारी पाए कि लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्याका कारण डाटाहरू नष्ट भएकाले परीक्षा रद्द गरिएको र पुनः दरखास्त दिनुपर्ने भनेर ।

उनी घर फर्किए र सुरेन्द्र डाँगीकै सल्लाह अनुसार असार २० गते नेपालगन्ज बिपी चोकस्थित एक साइबर पसलबाट पुनः एक हजार रुपैयाँ तिरेर सब इन्जिनियर पदका लागि अनलाइन फाराम भरे । फाराम भरे पश्चात् डाँगीकै कुरा अनुसार उनी साउन ७ गते कैलालीको अत्तरिया नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिए ।

साउन १८ गते उनको इमेलमा सुरेन्द्र डाँगीको नामबाट एउटा इमेल आयो । इमेलमा तपाईँ लिखित परीक्षामा पास भएको र मौखिक परीक्षाका लागि साउन २६ गते कैलाली आउन भनिएको थियो । उनका साथीभाईले सामाजिक सञ्जाल फेसबुकमार्फत शर्मालाई लिखित परीक्षामा सफल भएको र मौखिक परीक्षामा पनि थप सफलताको शुभकामना भन्दै उनको नामसहित उल्लेख गरिएको सुदूरपश्चिम लोकसेवा आयोगले प्रकाशित भएको सूचना पोष्ट गरे ।

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीको नाममा सूचना नं.१०४, मिति २०८०–०४–०७ गते प्रकाशित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको विषयको उक्त सूचनामा मनिष शर्मासहित पाँच जनाको नाम लिखित परीक्षामा सफल भएको र २६ गते कार्यालय समयमा आवश्यक कागजातसहित मौखिक परीक्षाका लागि उपस्थित हुन भनी उल्लेख गरिएको छ । जब उनले आफ्नी दिदीलाई उक्त कुरा जानकारी गराए ।

दिदीले सुदूरपश्चिम लोकसेवा आयोगको वेबसाइट हेरिन् । आयोगले त मिति २०८०–३–१२ गते सूचना नं. १०४–२०७९–८० को विज्ञापनमा सब इन्जिनियर पदका लागि साउन २७ गते मात्रै लिखित परीक्षामा सहभागी हुन आउन भनी जारी गरेको सूचना देखिन । तब शर्मा झसङ्ग भए र यो सबै नक्कली रहेछ भनेर बुझे । सुरेन्द्र डाँगी नामक व्यक्तिले किन यसो गरेका हुन् ? पीडित मनिष शर्मा अचम्ममा छन् ।

‘पैसा पनि मागेका छैनन्, धेरै चिनजान पनि छैन, सम्पर्क पनि छैन, उहाँको फोन नम्बर पनि छैन, सबै सूचना उहाँले इमेलमार्फत दिनुहुन्थ्यो, किन यसो गर्नुभयो अचम्म लागेको छ,’ मनिष भन्छन्, ‘परीक्षा नै नक्कली हो भने त म जस्ता परीक्षा दिएका हजारौँ व्यक्तिको जीवनसाथी खेलबाड भयो ।’ पीडित शर्मालाई इमेल पठाएका डाँगीसँग शर्माले इमेलमार्फत सम्पर्क नम्बर माग्दा उनले उपलब्ध गराएनन् ।

उल्टै पीडित शर्माको फोन नम्बर र फेसबुक एकाउन्ट शनिवार बिहानदेखि ह्याक गरिएको छ । ‘मेरो मोबाइल फोनमा शनिवार बिहानबाट फोन आउँदा पनि आउँदैन, जाँदा पनि जाँदैन, घण्टी पनि बज्दैन, कसैले फोन गर्यो भने म्यासेजमा मिसकल मात्र देखाउँछ । फेसबुक एकाउन्ट पनि बिहानैबाट चलेको छैन, नयाँ पासवर्ड हाल भन्छ, तर पासवर्ड हाल्ने ठाउँ देखाउँदैन,’ पीडित शर्माले भने ।

सुरेन्द्र डाँगी नामका व्यक्तिले प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट मिति २०८०–०२–०५ गते सूचना नं.३१४ को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचनालाई एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ । उक्त सूचनामा ब.क्र.नं. ३, रोल नम्बर ४१० मा सफल उम्मेदवारमा अमृत चौधरीको नाम उल्लेख छ । डाँगीले अमृत चौधरीको नाम हटाएर एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०८:०३