हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
कृष्णपुर नगरपालिका–२ बाणी नवदुर्गा टोल बस्ने ३५ वर्षीय कुवेर दमाई (हले)को हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका–२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेका छन् । सोमबारदेखि घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका–२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो ।
सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरा गर्दै सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रोहित चौधरीको गोली प्रहार गरी हत्या घटनामा संलग्न थप दुई जना पक्राउ
ईटहरी उपमहानगरपालिका–२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र ईटहरी उपमहानगरपालिका–४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ बिराटनगर महानगरपालिका–११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।
चोरी गरेको अभियोगमा एक जना पक्राउ
बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर थाहा नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय बिकास देउला (पोडे)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सुजनको घरमा साउन ६ गते राति सुन तथा हिराका गरगहना र नगदसमेत गरी करिब ८५ लाख २६ हजार ९०० रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीका सामानहरू देउलासँग रहेको खुल्न आएपछि उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।
साथै उक्त कार्यमा हाल अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा प्रहरी वृत्त मालिगाउँको थुनामा रहेका सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भएका ३२ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठको समेत संलग्नता रहेको खुल्न आएको छ । देउलालाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
झापा, अर्जुनधारा नगरपालिका–६ बाल बिकाश चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्रामसहित सोही नगरपालिका–११ बस्ने २५ वर्षीय निर्मल बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–५ मालुबेलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैना बस्ने ५९ वर्षीय मोहम्द सरिफ बागवान र सोही उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय फेशकार खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९०० मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले मोहम्द सरिफको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्रामसहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय हरि भक्त गिरी र दाङ दंगीशरण गाउँपालिका–३ हेकुली बस्ने ३२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.४ प ६०९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका–३ बिसघरे बस्ने ३६ वर्षीय नबिन कुमार थापालाई अवैध लागूऔषध गाँजा करिब ५ केजी ५ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित बेलबारी नगरपालिका–४ बस्ने ३३ वर्षीय सनम गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ७५९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरूङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा चाँदनी नगरपालिका–७ कंचभोज बस्ने ३४ वर्षीय प्रेम बहादुर बुढा क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
चक्कु प्रहारबाट द्रोपती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घाइते द्रोपतीको दोधरा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक बनमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
चन्द्रागिरी नगरपालिका–५ बस्ने ६१ वर्षीय केदार सिंह सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनारसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ७१५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धनुषा, जनकनन्दनी गाउँपालिका–४ खजुरीमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया लक्षोदेवी दासको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलसहित फरार चालकको खोजी भइरहेको छ । काभ्रे, बनेपा नगरपालिका–६ बुडोलस्थित सडकमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.–०२–०१३ प ६५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मोरङ घर भई काठमाडौं बानेश्वर बस्ने २३ वर्षीय सफल आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सुन्दरहरैचा नगरपालिका–५ हसिना सिमसार बाधको पानीमा पौडी खेल्ने क्रममा डुबेर सुनसरी ईटहरी उपमहानगरपालिका–३ बस्ने १६ वर्षीय अभिनन्द आचार्यको शुक्रबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–८ गौरीघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शुक्रबार र सोही महानगरपालिका–३० सानो गौचरणस्थित प्याराफिटमा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका–२६ स्थित बिजयपुर खोलाको पुलमुनी सोही ठाउँ बस्ने ८६ वर्षीय धनवीर सार्की र सोही महानगरपालिका–१८ वाटरफन्टस्थित फेवाताल किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने २४ वर्षीय सुजन थापा मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका–१३ चलाउनेपानी बस्ने ६९ वर्षीय मोतिलाल बुढाथोकी छत्रेश्वरी गाउँपालिका–५ सिर्वालीस्थित तिर्थपाले सामुदायिक बनको गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, कमलामाई नगरपालिका–४ पोखरेल गाउँ बस्ने ५५ वर्षीय फौदबहादुर सार्की सोही नगरपालिका–४ देउराली धारास्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । हुम्ला, नाम्खा गाउँपालिका–३ खगाल गाउँ बस्ने ५१ वर्षीय ग्यालजुङ लामा सोही ठाउँस्थित ताङघुङसो जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बुधबार दाउरा काट्न गएका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा शव फेला परेको हो । गोरखा, गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी चौरस्थित सोही नगरपालिका–५ थली बस्ने शम्भु कोइरालाको किराना पसल र भारत घर भएका जालिम हुसेनको सिरक डस्ना पसलमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा दुवै पसलमा रहेको विभिन्न सामान जलेर करिब २७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रामेछाप, रामेछाप नगरपालिका–७ सुकाजोर बस्ने रामकुमार कार्कीको कच्ची घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं