सुनसरी दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्छिन् । उनको श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएको तीन वर्ष भयो । छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जान्छिन् । उनीजस्तै इटहरीकी सावित्रा कोइराला पनि सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा काम गरेको पाँच वर्ष पूरा भयो ।
उद्योगमा काम गर्न थालेपछि कोइरालालाई घर चलाउन निकै सहज भएको छ । ‘दुई छोराछोरी स्कुल पढने छन्,’ कोइराला भन्छिन्, ‘यही उद्योगमा काम गरेको तलबबाट नानीहरू पढाउन भरथेग छ ।’ दुहबीकी सरस्वती र इटहरीकी सावित्रा मात्र होइन, पछिल्लो समय सुनसरी, मोरङ करिडोर क्षेत्रमा रहेका ठूला उद्योगमा महिलाको संख्या आधा छ ।
उनीहरूकै भरमा उद्योग चल्दै आएका छन् । उद्योगमा काम गर्ने बहुसंख्यक महिलाका श्रीमानहरू विदेशमा छन् । पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै करिडोरमा रहेका उद्योगमा मजदुर अभाव हुँदै आएको थियो । सोही अभाव पूर्ति गर्न साना–ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।
महिलाहरू पनि घरमा खाली बस्नुभन्दा दैनिक ५–६ सयसम्म आम्दानी हुने भएपछि काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदारले नियमित काम गरिरहेका छन् । अरिहन्तमा अहिले चार हजार ५०० कामदार छन् । जसमा ४० प्रतिशत महिला छन् ।
अरिहन्त जुट मिल्सका प्रबन्ध निर्देशक गोविन्द बजगाईंका अनुसार पूर्वका पुरुष प्रायः विदेश गएकाले त्यसको असर उद्योगले भोगिरहेका छन् । यसलाई कम गर्न महिला कामदार राखेको उनले बताए । ‘महिला कामदारलाई बसबाट ल्याउने र पुर्याउने व्यवस्था गरेका छौँ,’ प्रबन्ध निर्देशक बजगाईं भन्छन् ।
पुरुष कामदारको अभाव पूर्ति गर्न महिला कामदार राखेको प्रबन्ध निर्देशक बजगाईं बताउँछन् । उनले भने, ‘महिलाहरू कामप्रति बढी जिम्मेवार हुन्छन् ।’ यस्तै क्वालिटी बिस्कुट उद्योगका प्रबन्ध निर्देशक नवलकिशोर काबरा महिला गफमाभन्दा काममा बढी ध्यान दिने बताउछन् । ‘उनीहरुले उद्योगले समयलाई ध्यान दिएर काम गर्छन् ।’
काबराको उद्योगमा अहिले ४०० भन्दा बढीले रोजगारी पाएका छन् भने २०० भन्दा बढी महिला छन् । औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी काम गरेका छन् । नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले अहिले महिला कामदार राख्न थालेपछि कामदार अभाव हटेको बताए । उनका अनुसार मजदुरकै कारण उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन ।
‘महिला भनेपछि गार्मेन्ट उद्योगमा मात्र काम गर्ने संस्कार थियो,’ गोल्छाले भने, ‘महिलाहरू यतिबेला जुट, बिस्कुट, प्लास्टिक, चकलेट, चाउचाउ लगायतका उद्योगमा काम गरिरहेका छन् ।’ ‘रमपममा पनि महिला कामदारको संख्या निकै छ,’ एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भने । यस क्षेत्रमा साना ठूला गरी साढे ५०० भन्दा बढी उद्योग छन् ।
ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन् । उद्योग संगठन मोरङका अनुसार सुनसरी–मोरङ्ग औद्योगिक करिडोर क्षेत्रमा महिला मजदुरको संख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगारीमा पुरुषको आकर्षण बढेपछि मजदुर अभाव हुँदा त्यहाँका उद्योगहरूले महिलालाई प्राथमिकता दिन थालेका हुन् ।
उद्योग संगठनले एक वर्षअघि गरेको एक सर्वेक्षणले पनि सुनसरी मोरङ करिडोर क्षेत्रमा रहेका जुट, खाद्यान्न, गार्मेन्ट लगायतका अधिकांश उद्योगमा महिला कामदारको संख्या अधिक रहेको पाइएको महानिर्देशक चूडामणि भट्टराईले बताए । उनका अनुसार गएको वर्ष करिडोर क्षेत्रका साना–ठूला गरी कुल १९२ उद्योगमा गरिएको एक सर्वेक्षण अनुसार ती उद्योगमा कार्यरक्त कुल २६ हजार मजदुरमध्ये १२ हजार ५९९ जना महिला कामदार रहेका छन् । यो अवस्थाले पनि उद्योगमा महिला कामदारको संख्या बढरदै गएको भट्टराईको भनाइ छ ।
सत्यपाटी संवाददाता । सुनसरी