सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमै संवेदहिनता

स्वास्थ्य चौकीको खानेपानी ट्यांकीमा भ्यागुता र चेपागाँडा !

भुइँ ट्यांकीमा मात्रै नभई अकासे पानीले भरिने प्लास्टिकको ट्यांकीमा समेत फोहोर जमेर चेपागाँडा देखिएका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा ३० हजार लिटरको भुइँ पानी ट्यांकी छ । खानेपानीको चरम समस्या खेपिरहेको उक्त स्वास्थ्य चौकीमा आकासे पानी र टाढाबाट ट्यांकरमा ल्याई जम्मा गरिएको हुन्छ । उक्त ट्यांकीमा एकपटक पानी भरेपछि २ देखि ३ महिनासम्म काम चलाउने गरिएको छ ।

लामो समयसम्म पानी ट्यांकीमा जम्मा भएर बस्ने र सरसफाइसमेत नहुने भएकाले भ्यागुता र चेपागाँडा देखिने गरेका छन् । सोही पानी स्वास्थ्य चौकीमा प्रयोग हुन्छ । ‘भुइँ पानी ट्यांकी हो, निकासको व्यवस्था छैन । पानी जमेर बस्छ, फोहोर धेरै नै छ,’ पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले भने ।

पशुलाई समेत दिन नमिल्ने खालको पानी सुत्केरी सेवा र अन्य सरसफाइको कार्यमा प्रयोग गर्ने गरिएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले बताए । खानेपानीको व्यवस्था नहुँदा चरम समस्या भोग्नुपरेको उनको भनाइ छ । भुइँ ट्यांकीमा मात्रै नभई अकासे पानीले भरिने प्लास्टिकको ट्यांकीमा समेत फोहोर जमेर चेपागाँडा देखिएका छन् ।

सुत्केरीका लागि प्रयोग हुने उक्त पानीले महिलामा पाठेघरको समस्या देखिन थालेको छ । पञ्चेश्वर गाउँपालिकामा मात्रै आर्थिक वर्ष २०७९–०८० मा गाउँपालिकामा ११० जना महिलामा पाठेघरको समस्या देखापरेको छ । यस्तै उक्त पञ्चेश्वर स्वास्थ्य चौकीमा मात्रै १०३ जना महिलामा पाठेघरको समस्या देखिएको हो । बाँकी ७ जना गाउँपालिकाको अन्य पाँच वटा स्वास्थ्य चौकीमा सेवा लिएका महिला रहेका छन् ।

पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिएका महिलामध्ये अधिकांश महिलामा प्रदूषित पानीकै कारण पाठेघरमा समस्या देखिएको स्वास्थ्य चौकइ इन्चार्ज सार्कीले दाबी गरे । ‘यस स्वास्थ्य चौकीबाट सुत्केरी सेवा लिएका अधिकांश महिला पाठेघरको समस्या लिएर आएका छन्,’ सार्कीले भने, ‘सुत्केरी भएको महिना दिनभित्र सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, शरिर दुख्ने लगायतका समस्या लिएर आउँछन् ।’

स्वास्थ्य चौकीमा सुत्केरी भएका बेला नुहाउने, लुगा धुने र स्वास्थ्य चौकीमा प्रयोग हुने औजारको सफाइ गर्न त्यही पानी प्रयोग गर्ने गरिएको छ । बैतडीको सुर्नया गाउँपालिका–७ स्थित शिखरपुर स्वास्थ्य चौकीमा पनि खानेपानीकै समस्या छ । नजिकैको खोलाबाट पाइपमार्फत पानी ल्याउने गरिएको स्वास्थ्य चौकी इन्चार्ज वीरबहादुर बोहराले बताए ।

‘स्वास्थ्य चौकी र सुत्केरी महिलाका लागि खोलाबाट पाइपमार्फत तानेर ल्याउने गरेका छौँ,’ स्वास्थ्य चौकी इन्चार्ज बोहरा भन्छन्, ‘खोलाको पानी फोहोर हुन्छ । तर पनि के गर्नु अर्काे विकल्प छैन ।’ २०७८ कात्तिकमा आएको बाढीले स्वास्थ्य चौकीसम्म आउने खानेपानीको मुहान नै बगाएपछि त्यसयता खोलाको पानी नै प्रयोग गर्ने गरिएको उनले बताए । स्थानीय सरकारसँग पटकपटक माग गर्दा कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

जिल्लाको पाटन-८ स्थित सिद्धेश्वर स्वास्थ्य चौकीको पानी ट्यांकीमा पनि फोहोर भरिएको छ । सरसफाइ गर्न निकास नहुँदा सफाई गर्न नसकिएको स्वास्थ्य चौकीले जनाएको छ । बैतडीका अधिकांश स्वास्थ्य चौकीमा प्रयोग हुने पानी प्रदूषित रहेको पाइएको छ । हालै स्वास्थ्य कार्यालय बैतडीले स्वास्थ्य संस्थाले प्रयोग गर्ने खानेपानीको मुहानको अनुगमन तथा निरीक्षण गरेको थियो । यहाँ रहेका आधा स्वास्थ्य चौकीले प्रयोग गर्ने खानेपानीको मुहानमा दिसामा पाइने कीटाणु ‘कोलिफर्म’ भेटिएको छ ।

नियमित रूपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्यांकीबाट नमुना संकलन गरी परीक्षण गर्दा दिसामा हुने कीटाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ‘जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमुना संकलन गरी परीक्षण गरेका थियौँ,’ भट्टले भने, ‘१३६ ओटा मुहानको पानी पिउनयोग्य छैन । ५०.८ प्रतिशत मुहानको पानी दूषित छ ।’

दशरथचन्द नगरपालिकामा ३४ वटा मुहानको नमुना संकलन गरी परीक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ । यस्तै पुर्चाैडीमा ३० मध्ये १२, पाटनमा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७, पञ्चेश्वरका १८ मध्ये १४, शिवनाथका १८ मध्ये १२, सिगासका ३७ मध्ये १०, खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

यस्तै सुर्नयाका २४ मध्ये १७ दोगडाकेदारका २७ मध्ये १८ र डिलाशैनि गाउँपालिकाका २१ ओटा खानेपानीका मुहानबाट नमुना संकलन गरी परीक्षण गर्दा १२ वटा पानीका मुहानमा कोलिफर्म भेटिएको हो । पानीको मुहान, इन्टेक र धारालाई नियमित सरसफाइ गर्न आवश्यक रहेको भट्टको भनाइ छ । दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता विभिन्न सरुवा रोगको संक्रमण बढ्ने गरेको छ । स्वास्थ्य संस्थामै प्रयोग हुने खानेपानीमा केलिफर्मजस्ता कीटाणु भेटिनुले समस्या झन् भयावह बन्ने सक्ने उनको चिन्ता छ ।

स्रोत : आइएनएस
प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १६:५१