रुकुम पश्चिममा आफ्नै घरभित्र एक महिलाको शव भेटिएको छ । मुसिकोट नगरपालिका १, सल्लेको एक घरमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय ५२ वर्षीया हस्तकली बुढाथोकी मृत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक (डिएसपी) नमराज भट्टराईले महिलाको मृत्यु केही दिन अगाडि नै भएको आशंका गरेका छन् । हिजो नेपालगन्जबाट आएकी उनकी भदैनीले घरमा ताला लगाएको देखेपछि फोन गरेकी थिइन् ।
हस्तकलीको फोन नउठेपछि स्थानीयलाई सोधपुछ गरिन् । शंका लागेर प्रहरीले घर खोलेर हेर्दा सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएको डिएसपी भट्टराईले जानकारी दिए । उनको कोठाको ढोका बाहिरबाट लगाइएको थियो ।
घरका सबै कोठामा ताला लगाइएको अवस्थामा बुढाथोकी मृत अवस्थामा भेटिएकाले हत्या हुनसक्ने भट्टराईले बताए । स्थानीयका अनुसार मृतक बुढाथोकीका दुई छोरामध्ये जेठो नेपालगञ्ज र कान्छो जापानमा रहेकाले घरमा एक्लै बस्दै आएकी थिइन् ।
उनीसँग केही गरगहना र नगदसमेत भएकोले लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयको आशंका छ । घटना रहस्यमय भएकाले अनुसन्धान प्रारम्भ भइसकेको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । रुकुम पश्चिम