सूचनाको शक्ति - The Power Of Information

        

प्रधानन्यायाधीश कार्की आजबाट अनिवार्य अवकाशमा

प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज (शनिबार)बाट उमेरहदका कारण अनिवार्य अवकाशमा गएका छन् । लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि गत असार १ गते उहाँ प्रधानन्याधीश बनेका थिए । लामो समय वकालत गरेका कार्कीले नेपाल बार एशोसिएशन र नेपाल सरकारको महान्यायाधिवक्ता भएर काम गरिसकेका छन् ।

२०७३ साल साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त कार्की अवकाशको समयसम्म आउँदा कुनै गम्भीर विवादमा आएनन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोग लागेपछि न्यायाधीश दीपक कार्की सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश बने । कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की १० महिनाअघि उमेरहदका कारण अवकाशमा गएपछि सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीले गरेका थिए ।

यसैबीच, प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा विचौलिया हटेको दाबी गरेका छन् । सर्वोच्च अदालतले मुद्दाको सुनुवाई गर्न गोलाप्रथाको चलन ल्याएपछि न्यायालय भित्रको विचौलियाको भागाभाग जस्तै भएको टिप्पणी गरे । वर्षौंदेखि जरा गाडेर बसेको सेटिङसमेत गोलाप्रथा लागू भएपछि हटेको उनले बताए । प्रधानन्यायाधीश कार्कीले आफ्नो कार्यकालमा राजनैतिक दबाब खेप्नु नपरेको बताए ।

उनले आफू भन्दा अगाडिको नेतृत्वले नै राजनैतिक दबाब र हस्तक्षेपलाई निमन्त्रणा दिने काम गेरको हुनसक्ने बताए । आफूले राजनैतिक आग्रहलाई कुनैपनि समय स्थान नदिएको बताए । स्वतन्त्रतालाई अन्तस्करणबाट ग्रहण गरेर व्यवहार गर्नसके हस्तक्षेप नहुने बताए । प्रधानन्यायाधीश कार्कीले अदालतको फैसलाबिरुद्ध सडकबाट समाधान खोज्न राम्रो नभएको बताए । उनले न्यायालयको प्रक्रियाबाट हुने फैसलालाई सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘सायद यो मैले त पहिला पनि भन्ने गरेको थिएँ । कतै न्यायपालिकाको नेतृत्वले नै हस्तक्षेपलाई निमन्त्रणा दिएको पो हो की ? भन्ने गरेको थिएँ । त्यो अवसर मैले दिइनँ । त्यो नदिएको कारणले गर्दा मलाई कसैले पनि कुनै मुद्दामा यसो गर्नुपर्यो, वा यस्तो मान्छेलाई नियुक्ति, सरुवा गर्नुपर्यो भन्नेकुरा सुन्नुपरेन । आफूले न्यायपालिकाको सवतन्त्रतालाई अन्तस्करणबाट ग्रहण गरेर यदी व्यवहार गर्नसके अरुले आँट गर्दैनन् ।’

नागरिकको मौलिक हक अधिकार र संविधानको रक्षा प्रक्रियामा सबैले विश्वास गर्नुपर्ने बताए । प्रधानन्यायाधीश कार्कीले छोटो सयम प्रधानन्यायाधीश भएर काम गर्दा केही कठिनाई भए पनि कामु भइसकेकाले कठिन भने नभएको बताए । उनले आफ्नो कार्यकालमा न्यायपालिकाको सुधारका लागि लागेको र केही पहल भएको बताए । उनले बारसँगको सहकार्य बिना न्यायालय सञ्चालन गर्न कठिन हुने बताए ।

उनले न्यायालय चुस्त बनाउनका लागि बारसँग सहकार्य गरेर नै अघि बढ्दा उचित हुने बताए । उनले आफ्नो कार्यकालमा समेत आफूले बारको सहकार्य र समन्वयमा नै काम गरेको बताए । प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले न्याय परिषद्को संरचनाका कारण पनि न्याय सम्पादनमा कतिपय स्थानमा समस्या आइरहेको बताए । प्रधानन्यायाधीश कार्की आजैबाट उमेरहदका कारण अनिवार्य अवकाशमा गएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ०८:४२