आकाश हेरी बस्छ, धरतीका फाँट, खेत र जङ्गल
घरीघरी रुन्छ, डाँको छाडेर रुन्छ
घरीघरी रुन्छ, प्रेम बिछोडको वेदनाले आहत युवतीझैं धुरुधुरु रुन्छ
अस्पृश्य धरतीका
यावत दुरुहताविरुद्ध आगो ओकल्दै कोकोहोलो हालेर रुन्छ
आकाश हेरी बस्छ, धरतीमा प्राणीको जिन्दगी हेरी बस्छ ।
आकाशको बैजनी रङ, इन्द्रेणी र नीलसागरजस्तो
व्योमण्डलबाट झर्छ साार्वभौम चेतनाको अन्तरध्वनि
धरतीको विषम वक्ष र अतुल रहश्य
आँसुले भिजेको माटोमा उम्रिएका धानका बालाजस्ता
लहलह मानिसहरुको बस्तीमा
कहिलेकाहीं थकाइ मारी बस्छ आकाश, पहाडको फेदीमा
क्षितिजबाट ओर्लिएर
मानिसहरुको हर्षमा हाँस्दैन आकाश
अलिकति मुस्कुराउँछ सूर्योदयमा
मनिसहरुको दुःखमा रोइ बस्छ
प्रेमले, स्नेहले बिस्तारै झरेर
धरतीको यावत पिण्डको आलिङ्गनमा थुपुक्क निदाइ बस्छ आकाश ।
आकाश रुनुको पर्याय पिन्चे रुनु होइन
धरती खुसी हुनुको अपरिमित सौन्दर्यको बाछिटा हो, आँसु
मायावी, एउटा कठोर सत्य प्रकृति र प्राणीको आकाश
मानिसको छाती, स्पन्दन र फूलबारी हो, धरतीको मधुर उच्छ्वास
आकाश हेरी बस्दैन मानिसको दुःख
आकाश हेरी बस्छ, धरतीका निरुपायहरुको मुक्तिशास्त्र
आकाश शून्य अन्तरिक्ष होइन, अस्तित्ववोधको ध्वन्यार्थ हो
घाम देखाउने र छोप्ने कालो पर्दा होइन, आकाश
मनिसको मनमा उदाउने शितल चन्द्रमा
र मानिसको चुलोमा बल्ने आगोको ज्वाला हो, आकाश
आकाश हेरी बस्छ, धरतीका फाँट, खेत र जङ्गल
मानिसहरुको बस्तीमा शान्त निद्रा
धानका बालाहरु लहलह झुलेको
र मानिसहरुको स्निग्ध चेहराको सौन्दर्यले
अभिभूत भई बस्छ, नीलो आाकाश
आकाश हेरी बस्छ, धानका बालाहरु लहलह ।
रेशम विरही । बरिष्ठ पत्रकार तथा साहित्यकार