घरबारी अर्थात् बसोबासका लागि बसाइएको घरबारीटोल अहिले खेलाडीको टोलका रूपमा चिनिन्छ । सुब्बा पद्भनाम जोशीलाई यो टोल बसाउने श्रेय जान्छ । उनले आफ्नो काममा मद्दत पुग्ने गरी काम गर्न सहयोगी लिएर आएका थिए । रुपाखेती थरका तिनै सहयोगीले आफ्नो घरबारीसमेत हुने गरी बयर र सितहानाका झाडी फाँडेर आवाद बनाए ।
उनै पद्भनाम जोशीकै पनि आफ्नै घरबारीसमेत त्यहीं थियो । नेपालगन्जको बस्ती विकाससँगै सरकारी कार्यालयहरू खुले । ती कार्यालयमा काम गर्ने अधिकांश मानिस र बाँकेका गाउँका ठूला जमिन्दारले समेत घर र बारीका लागि त्यही ठाउँमा घरजम गरे । घरबारी टोलका सम्भ्रान्त वर्गको शान, शौकत अब इतिहासको पानामा सीमित छ ।
नयाँ व्यापारिक वर्गले उनीहरूलाई अल्पसंख्यक रैनाथेमा परिणत गरिसकेका छन् । १६० वर्षभन्दा पुरानो यो अब घर र बारीको टोल रहेन । अब त घरबारी टोल राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलोका रूपमा चिनिएको छ । ‘घरबारी टोल’मा नाम कमाएका समाजसेवी र राजनीतिज्ञदेखि देश–विदेशमा ख्याती कमाएका अन्तर्राष्ट्रिय खेलाडी प्रशस्तै छन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि ओलम्पियनसम्म यस टोलले उत्पादन गरेको छ । सुटिङ, भारोत्तोलन, क्रिकेट, टेनिस, हक्की, फुटबल, भलिबल, टेबलटेनिस, कबड्डी लगायत खेलका २० जना अन्तर्राष्ट्रिय खेलाडी यस टोलले उत्पादन गरेको छ । घरबारी टोलमा सुटिङ खेल स्थापित गर्ने श्रेय सज्जनप्रताप सिंहलाई जान्छ । टोलका सबै खेलाडी सज्जनका चेला हुन् ।
खेलकुदका भीष्म पितामहको नामले चिनिने सज्जनले नै घरबारी टोलमा सुटिङ खेल स्थापित गरे । सन् १९८२ मा भारतको नयाँदिल्लीमा आयोजित नवौं एसियाली खेलमा सज्जन सहभागी भए । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने उनी घरबारी टोलका पहिलो खेलाडी हुन् । उनीसँगै भारोत्तोलनका खेलाडी सुरेन्द्र हमालले पनि नवौं दक्षिण एसियाली खेलमा सहभागी भएका थिए । हमाल ओलम्पिक खेलाडी हुन् ।
सज्जनका छोरा केशवप्रतापले दुईवटा एसियाली खेल खेल्दा सोही टोलका केशवप्रताप सिंह दक्षिण कोरियामा भएको दशौं र चीनमा भएको एघारौं एसियाली खेलमा सहभागी भए । यस्तै, राजेन्द्र सिंहको परिवार सुटिङमै समर्पित छ । राजेन्द्र हाल सुटिङ प्रशिक्षक हुन् । रवि सिंहले विश्व च्यापियनसिप खेल्दा घरबारी टोलका रोहित सिंह सुटिङ खेलाडी हुँदै अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर टोलको इज्जत जोगाए ।
अन्य खेलको तुलनामा यस टोलमा सुटिङका अन्तर्राष्ट्रिय खेलाडी धेरै छन् । घरबारी टोलमा खेल स्थापित गर्ने तीर्थमान श्रेष्ठले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुँदा सोही टोलकी अनिता श्रेष्ठ सुटिङ प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरिन् । एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षकको भूमिका वहन गरी सेवा निवृत्त बिक्रमजंग थापाले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम राखे ।
सुटिङका लक्ष्मण थापा, आशा थापा बिष्ट पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भए । सुटिङका बदरुद्दिन अन्सारी, मोहम्मद अहमद अन्सारी, केशवप्रताप सिंह र रवि सिंहले पनि अन्तर्राष्ट्रिय स्तरको सुटिङमा सहभागिता जनाए । अभयलाल श्रेष्ठले ह्यान्डबल, समिर अर्याल सुटिङ, ब्याडमिन्टनका गोपी सिंह, कबड्डीकी शान्ति सिंह, ह्यान्डबलका जयन्तकुमार शर्मा, हक्कीका विजयन्तकुमार शर्मा र सुटिङकी शैलु श्रेष्ठले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरी गौरव बढाए ।
घर र बारीका लागि बसेकामध्ये दुई परिवारका तीन सन्तती ओलम्पिकमा सहभागी भए । सुरेन्द्र हमालले भारोत्तोलनमा ओलम्पिक खेल्दा पार्वती थापा र अनिता श्रेष्ठले सुटिङबाट ओलम्पिकमा सहभागी भए । सुरेन्द्र हमालले सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा भएको ओलम्पिक गेममा सहभागिता जनाए । सन् १९८३ मा मस्कोमा सम्पन्न वर्ल्ड एन्ड युरोपियन च्याम्पियनसिपमा सहभागी भएका हमालले काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली च्याम्पियनसिपमा सहभागी भई तीन कास्य पदक जिते ।
बंगलादेशमा भएको दोस्रो साफ गेममा दुईवटा रजत र एक कास्य पदक हात पार्न सफल हमालले पाकिस्तानमा भएको चौथो र श्रीलंकामा भएको पाँचौं साफ गेममा तेस्रो स्थान हासिल गरे । सन् १९८८ मा दक्षिण कोरियामा आयोजित ओलम्पिकमा पार्वती थापाले सुटिङको प्रतिनिधित्व गरिन् । उनले दक्षिण कोरियामा भएको १० औं, चीनमा भएको ११ औं र नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाइन् । र, श्रीलंकामा भएको पाँचौं साफ गेममा समूहगततर्फ रजत पदक जितिन् ।
सुटिङका अन्तर्राष्ट्रिय खेलाडी तथा मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका निवर्तमान उपाध्यक्ष नरेन्द्र थापाकी भान्जी अनिता श्रेष्ठ पनि ओलम्पियन हुन् । सन् १९९२ मा बार्सिलोनामा आयोजित ओलम्पिकमा अनिता सहभागी भइन् । उनले श्रीलंकामा भएको पाँचौं साफ गेममा व्यक्तिगततर्फ स्वर्ण र समूहगततर्फ रजत पदक हात पारिन् । उनले सन् १९९० मा चीनमा एसियाली खेलकुदमा समेत सहभागिता जनाइन् । करिब १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन् उनी ।
घरबारी टोलमा डेढ सय रैथाने परिवार छन् । हरेक घरमा कम्तीमा एकजना खेलाडी छन् । ओलम्पियन सुरेन्द्र हमालको घरमा मात्र तीन जना राष्ट्रियस्तरका खेलाडी छन् । घरबारी टोलका नरेन्द्र थापा र बदरुद्दिन अन्सारीको दुई परिवारका सदस्य पूरै सुटिङका खेलाडी हुन् । नरेन्द्रको परिवारका आठ सदस्य सुटिङमा आबद्ध छन् । नरेन्द्रकी बहिनी कृष्णा सन् १९९७ मा भारतको दिल्लीमा आयोजित साफ च्याम्पियनसिप, श्रीलंकामा भएको १२ औं र सन् २०१९ मा नेपालमा सम्पन्न १३ औं सागमा सुटिङतर्फ सहभागी भइन् ।
र, उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एयर पेस्तोलमा स्वर्ण पदक जितिन् । उनले छैटौं राष्ट्रिय खेलकुदमा समेत पदक जितेर टोलको इज्जत बढाइन् । र, आठौं राष्ट्रिय खेलकुदमा समूहगत इभेन्टमा एक स्वर्ण र एकलतर्फ रजत पदक हात पारिन् । भान्जा संजोगकृष्ण श्रेष्ठ सातौं राष्ट्रिय खेलकुदमा प्रथम हुँदा भान्जी माधवीले सोही प्रतियोगितामा कास्य पदक जितिन् । दिदी पुनम श्रेष्ठ, ठूलीआमाका छोराछोरी लक्ष्मण र आशा थापासमेत सुटिङका अन्तर्राष्ट्रिय खेलाडी हुन् । लक्ष्मणले तेस्रो राष्ट्रिय खेलकुदमा स्वर्ण हत्याए ।
सन् १९८६ मा दक्षिण कोरियामा भएको दशौं एसियाली च्याम्पियनसिपमा भाग लिएका लक्ष्मण सुटिङका प्रशिक्षक हुन् । आशाले सन् १९८७ मा चीनमा सम्पन्न छैटौं एसियाली सुटिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरिन् । नरेन्द्र थापाले सन् १९९० मा चीनमा आयोजित एसियाली खेलमा भाग लिएका थिए । उनले राष्ट्रिय खेलकुदमा तीन स्वर्ण, तीन रजत र दुई कास्य जितेका छन् । श्रीलंकामा सम्पन्न पाँचौं, बंगलादेशमा आयोजित छैटौं र नेपालमै भएको आठौं साफ गेमसमेत नरेन्द्रले खेलेका छन् ।
उनले ०५७ सालमा दिल्लीमा भएको साफ च्याम्पियनसिपको समूहगततर्फ कास्य पदक जितेका थिए । बदरुद्दिन अन्सारी परिवारका मात्रै पाँच खेलाडी अन्तर्राष्ट्रिय स्तरका छन् । सुटिङका अन्तर्राष्ट्रिय खेलाडी अन्सारीले छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण जिते । सातौं राष्ट्रिय खेलकुदमा रजत हत्याए । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सामूहिक इभेन्टतर्फ उनले स्वर्ण पदक हात पारे । उनले एयर पेस्तोलतर्फ दिल्लीमा भएको साफ च्याम्पियनसिपमा कास्य जितेका थिए ।
उनका भाइ अब्दुल वाहिद अन्सारीले छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दा छोरी जोया अन्सारीले सातौं राष्ट्रिय खेलकुदमा कास्य पदकमा चित्त बुझाइन् । भतिजी डा.साहिना प्रविनले छैटौं राष्ट्रिय खेलकुदमा कास्य जितिन् भने सातौं राष्ट्रिय खेलकुदमा भतिजा नुर अहमद अन्सारीले एयर पेस्तोलको टिम इभेन्टमा रजत पदक हात पारे । घरबारी टोलकी सैलु श्रेष्ठले सन् १९८७ मा जर्मनीमा भएको विश्वकपमा सुटिङमा भाग लिइन् । उनले एसियन च्यापियनसिपमा समूहगततर्फ स्वर्ण पदक हात पारिन् ।
यही टोलका समिर अर्यालले काठमाडौंमा सम्पन्न आठौं साफ गेममा सुटिङ समूहगततर्फ कास्य पदक जिते । नयाँदिल्लीमा सन् १९९५ मा सम्पन्न साफ च्याम्पियनसिपमा समूहगततर्फ कास्य पदक हत्याए । मोहमद अहमद अन्सारी आठौं साफ खेलमा सहभागी भएका थिए । अजयसिंह सिजापति, सागर शर्मा, अर्जुनकुमार श्रेष्ठ सुटिङका राष्ट्रिय खेलाडी हुन् । पूर्वसांसद सुरेन्द्र हमालका दाजुभाइ वृजेन्द्र र जितेन्द्र क्रिकेट खेलाडी हुन् ।
यस्तै, सोही टोलका वसन्तकुमार श्रेष्ठ, पुष्पराज श्रेष्ठ, मनोज श्रेष्ठ, रवीन्द्र हमाल, सुदनसिंह राणा भारोत्तोलनका राष्ट्रिय खेलाडी हुन् । क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी सञ्जय सिंह, क्रिकेटकै चर्चित सुनिलसिंह हमाल, मणि थापा र जितेन्द्र हमाल घरबारी टोलकै बासिन्दा हुन् । यस्तै, शैलकुमार श्रेष्ठ, युवराज शर्मा, प्रनिल हमाल, सुरेशराज शर्मा, भीम थापा, ऋषिराज शर्मा र दिवाकर शर्मा क्रिकेटका राष्ट्रिय खेलाडी हुन् । टेबलटेनिसका राष्ट्रिय खेलाडी दावा शेर्पा, प्रमोद श्रेष्ठ, प्रकाश श्रेष्ठ, विकास सिंह, वृजेन्द्र हमाल, सुवास श्रेष्ठ, प्रशान्त श्रेष्ठ, दीपक श्रेष्ठ, विकास राजभण्डारी घरबारी टोलकै हुन् ।
एथलेटिक्सतर्फ वरिष्ठ प्रशिक्षक तथा पूर्वराष्ट्रिय कप्तान विक्रमसिंह थापा, अमरजंग थापा, अजयराज सिंह, फूलसिंह थारू, कृतिसिंह थारू, जागेश्वर चौधरी, हरिप्रसाद श्रेष्ठ, भैरवसिंह ढकाल यही टोलका हुन् । ह्यान्डबलका जयन्त शर्मा र हक्कीका विजयन्त शर्मासमेत घरबारी टोलका बासिन्दा हुन् । ह्यान्डबलका राष्ट्रिय खेलाडीहरू प्रदीप भट्टराई, कञ्चन श्रेष्ठ, प्रकाश श्रेष्ठ, प्रदीप श्रेष्ठ, रमेशकुमार शर्मा, सहदेव श्रेष्ठ, सुरेन्द्रकुमार श्रेष्ठ, शिवकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, हरिहर श्रेष्ठ, महेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ घरबारी टोलकै हुन् ।
भलिबलका तीर्थराज श्रेष्ठ अन्तर्राष्ट्रिय खेलाडी हुन् । केशवसिंह हमाल, इन्द्रमान श्रेष्ठ, नारायणकुमार श्रेष्ठ, दीपक भट्टराई भलिबलका राष्ट्रिय खेलाडी हुन् । बक्सिङका राष्ट्रिय पदकधारी सोहन श्रेष्ठ, विजयराज शर्मा र अमरजंग थापा, ब्याडमिन्टनका खेलाडी गोपी सिंहसमेत यही टोलका बासिन्दा हुन् । यो टोलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका १०५ भन्दा बढी खेलाडी रहेको तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष नरेन्द्र थापा बताउँछन् । उनको भनाइमा ‘एक घर एक खेलाडी’ नै घरबारी टोलको पहिचान हो ।
सत्यपाटी संवाददाता । बाँके