महोत्तरीको भँगाहा नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वयको अभाव हुँदा नगरपालिकाको कामकाज ठप्प भएको छ । नगरपालिकाका मेयर संजीव कुमार साहले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नगरपालिकाको हाकिम हराएको भन्दै कोही कसैले भेटेमा जानकारी गराउन आह्वान गरे ।
व्यङ्ग्यसहित उनको पोष्टमा लेखिएको छ, ‘हाम्रो भँगाहा नगरपालिकाको कार्यकारी प्रमुख श्रवण कुमार साह १८ दिनदेखि अफिस नआएको साथै फोन समेत नलागेकाले कोही कसैले भेटेमा जानकारी गराउनु होला ।’ मेयर साहले फेसबुक मार्फत हाकिमको खोजी गरिरहँदा प्रमुख प्रशासकीय अधिकृत साह भने सरुवा खोज्दै सिंहदबारमा धाइरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउँदा कार्यालयको दैनिक प्रशासनिक कार्यसहित अन्य महत्त्वपूर्ण कार्य ठप्प रहेको मेयर साहले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुँदा पानीको हाहाकार हुँदा समेत नगरबासीका लागि पानी व्यवस्थापन गर्न नसकेको, घरपालुवा जनावरहरुमा फैलिएको लम्पी स्किन रोगको औषधि खरिद लगायतको सेवाहरु ठप्प भएको छ ।
‘बिना जानकारी हाकिम अनुपस्थित छ,’ उनले भने, ‘मसँग सम्पर्कमै छैन ।’ यता प्रमुख प्रशासकीय अधिकृत डा.श्रवणकुमार साह भने आफू साउन ११ र १२ गते जनकपुरमै स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रम सहभागी भएको बताए । उनले आफू मन्त्रालयबाट बिदा स्वीकृत गराएर निजी काममा व्यस्त रहेको प्रस्ट पारे ।
प्रमुख प्रशासकीय अधिकृत साहले गत आइतबारदेखि आफू बिदामा रहेको बताए । आन्तरिक विवादका कारण मेयरले फेसबुकमा अनर्गल लेखिरहेको उनको भनाइ छ । पालिकामा मेयर र हाकिमबीच राम्रो सम्बन्ध नरहेको कार्यालयका एक जना कर्मचारीले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत साह भँगाहाबाट सरुवा गराउन काठमाडौं धाइरहेका छन् ।
सत्यपाटी संवाददाता । महोत्तरी