नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भदौको पहिलो हप्ता प्रशिक्षण कार्यक्रम आयोजन गर्ने निर्णय गरेको छ ।
शुक्रबार दाङको भालुवाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले भदौको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अुनसार १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२ प्रदेश सभा क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रम गरिने छ । नवलपरासी (पश्चिम) मा आयोजना गरिने प्रशिक्षणलाई पार्टी नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरू सम्बोधन गर्ने छन् ।
पार्टी प्रदेश सभापति अमरसिंह पुनले समयानुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वका लागि प्रशिक्षण आवश्यक भएको बताए ।
“प्रशिक्षणपछि पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विषेश आधार तय हुन्छ,” पुनले भने ।
प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्ती बैठक सञ्चालन गर्ने र आगामी बैठक पाल्पामा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ