सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन पछि हटेपछि झापा कारागारको अवस्था सामान्य

चौकीदारको सरुवाको विरोधमा जिल्ला कारागार झापामा भएको झडप साम्य भएको छ ।

कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

झडपपछि कैदीबन्दीले कारागार भित्रै टायर बालेर प्रदर्शन गरेका थिए ।  कारागार भित्रबाट बाहिर ढुंगामुढा पनि गरेका थिए  । ‘कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा भित्रबाट बाहिर ढुंगामुढा गरे,’ उनले भने, ‘मुढा बनाउनका लागि कारागारमा लगेको टायर बालेर प्रदर्शन गरे ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको थियो । तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको छ ।

कारागारबाटै कैदीबन्दी भाग्ने अवस्था बनेपछि कारागारलाई घेरेर केही राउण्ड हवाइ फायर पनि गरेको उनले बताए । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको उनले बताए  ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १७:४६