सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ल्यापटप र कम्प्युटर आयात प्रतिबन्ध

भारतले कम्प्युटर, ल्यापटप, पामटप, अटोमेटिक डाटा प्रोसेसिङ मेसिन, माइक्रो कम्प्युटरसहित ठुला मेनफ्रेम कम्प्युटरको आयातमा प्रतिबन्ध लगाएको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बिहीबार (अगस्ट ३) मा एक सूचना जारी गर्दै एचएसएन कोड ८४७१ अन्तर्गतका सात श्रेणीका कम्प्युटर तथा अन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

वाणिज्य तथा उद्योग मन्त्रालयले अब ल्यापटप, पर्सनल कम्प्युटर र अन्य इलेक्ट्रोनिक उपकरण आयात गर्न लाइसेन्स ल्याउनुपर्ने बताएको छ । अनुसन्धान तथा विकास (आर एन्ड डी), परीक्षण, बेन्चमार्किङ तथा मूल्याङ्कन मर्मत तथा पुनः निकासी एवं उत्पादन विकास प्रयोजनका लागि भने प्रति कन्साइनमेन्ट २० वस्तुसम्मको आयात छुट दिएको छ ।

यो कदमलाई आईटी हार्डवेयरको स्वदेशी उत्पादनलाई बढावा दिने निर्णयका रूपमा हेरिएको छ । यसका साथै कम्पनीहरूलाई भारतमै स्थानीय रूपमा यस्ता उपकरण उत्पादन गर्न धक्का दिने किसिमले यो निर्णय गरिएको अधिकारीहरूले बताएका छन् ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारतमा प्रविधिको विकाससँगै विद्युतीय उपकरणहरूको आयात बढ्दै गएको छ । भारत आफैँ उदयीमान आर्थिक शक्ति बन्दै गर्दा आफूलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन खोजेको छ । त्यसकै एक हिस्साका रूपमा यो कदमलाई हेरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १५:५८