के तपाईं अविवाहित हुनुहुन्छ ? यदि तपाईं अविवाहित हुनुहुन्छ भने तपाईले आफु अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नुपर्ने भएको छ । झापाको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ ।
नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न १५० रुपैयाँ लाग्ने भए पनि अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ लाग्ने भएको हो । यसअघि पालिकाले नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न १०० रुपैयाँ लिँदै आए पनि आर्थिक वर्ष २०८०–२०८१ मा ५० रुपैयाँ शुल्क वृद्धि गरेको हो ।
त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न २०० रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न ५०० रुपैयाँ लाग्ने भएको छ । यसअघि नाता प्रमाणित गर्न ३०० रुपैयाँ मात्रै लाग्दै आएको थियो । त्यस्तै बसोवास प्रमाणित गर्न समेत ५०० रुपैयाँ लाग्ने राजपत्रमा उल्लेख छ ।
पालिकाले अविवाहित प्रमाणित गर्न मात्र होइन नाबालकको परिचयपत्र बनाउन गरिने सिफारिसका लागि समेत शुल्क लिने भएको छ । जसका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ । यता गाउँपालिकाले सम्बन्ध विच्छेदको सिफारिसमा तेब्बर बढी शुल्क बढाएको पाइएको छ । सम्बन्ध विच्छेदका लागि गरिने सिफारिसका लागि यसअघि ३०० रुपैयाँ लिँदै आएपनि यस वर्षबाट सो शुल्कलाई बढाएर एक हजार रुपैयाँ पुरÞ्याइएको छ ।
सत्यपाटी संवाददाता । झापा