नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले आज काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन् ।
उनी २०७६ कात्तिकमा राष्ट्रिय टिमको कप्तान बनेका थिए । १० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघले कप्तान नियुक्त गरेको थियो । उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए ।
उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटायो । खेलाडी वर्गीकरणमा भएको त्रुटिको विषयमा सन्तुष्टि व्यक्त गरेपछि ज्ञानेन्द्रलाई कप्तानबाट हटाइएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो ।
कप्तानबाट हटेपछि पनि उनले २ वर्ष राष्ट्रिय टिमबाट खेले । पछिल्लो पटक उनले आईसिसी एकदिवसीय छनोटमा आयरल्यान्डविरूद्ध खेलेका थिए । उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् । यस्तै ४५ टि–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं