सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज नाकाबाट एक अर्बको आलु आयात

भारतबाट विभिन्न सामान आयात गरेर ल्याउँदै गरेका ट्रकहरु नाकामा ।

नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुबै वर्षेनी बढ्दै गए पनि भारतबाट हुँदै आएको आलुको आयात भने अत्यधिक परिमाणमा अझै पनि भइरहेको पाइएको छ । नेपालगन्ज नाकाबाट मात्रै वर्षमा एक अर्ब हाराहारीको आलु भारतबाट आयात हुने गरेको पाइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा नेपालगन्ज नाकाबाट ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको आलु आयात भएको छ । गत आवमा यो नाकाबाट मात्र तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात भएको हो ।

सूचना अधिकारी शर्माका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा एक अर्ब १० करोड ८३ लाख ५५ हजार रुपैयाँको आलु आयात भएको थियो । त्यसबेला यो नाकाबाट चार करोड ४० लाख ९८ हजार ६९४ किलो आलु आयात गरिएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब १८ करोड रुपैयाँको आलु आयात घटे पनि अझै धेरै ठुलो परिमाणमा आलु भारतबाट आइरहेको देखिएको भन्सार कार्यालयले जनाएको छ ।

आलु आयातबाट नेपालगन्ज भन्सारले आव २०७८–०७९ मा १५ करोड ६४ लाख ३८ हजार र गत आव २०७९–०८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यान लगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि अझै भारतकै आलुमा निर्भर रहनु दुःखद भएको बताए ।

उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि यति ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए । केही वर्ष पहिलेसम्म विभिन्न तरकारीमा भारतकै भर पर्नुपर्ने बाध्यता रहे पनि अहिले आएर आलु बाहेक अन्य अधिकांश तरकारी नेपालमै ठुलो परिमाणमा उत्पादन भइरहेकोले अन्य तरकारीमा समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १४:४७