सूचनाको शक्ति - The Power Of Information

        

खाद्य गुणस्तर परीक्षणमा अनौठो नतिजा

पाँच महिनाअघि खान अयोग्य चामल अहिले योग्य

असार ३१ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा नमुना पठाउँदा साउन ३ गते पुनः खानयोग्य र गुणस्तरीय रहेको प्रतिवेदन आएको छ ।

पहिले अखाद्य र अहिले खानयोग्य बताइएको चामल बोकेका कन्टेनर ।

नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ ।

सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व खाद्य कार्यक्रमले ल्याएको चामललाई भिजेको, गन्ध आएको र खान अयोग्य रहेको भनेर प्रतिवेदन दिएको थियो भने सोही चामलको पुनः साउन ३ गते परीक्षण गर्दा खानयोग्य र गुणस्तरीय भनेर प्रतिवेदन दिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार ५४ हजार किलो चामल बोकेका विश्व खाद्य कार्यक्रमका तीन वटा कन्टेनर गत माघ १५ गते नेपालगन्ज भन्सारमा आइपुग्दा चामल भिजेको र कुहिएको जस्तो देखिएकाले गुणस्तर जाँच गर्न चामलको नमुना खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्ज पठाइएको थियो ।

सो कार्यालयबाट चामल खान अयोग्य र गुणस्तरहीन रहेको भन्ने प्रतिवेदन आएपछि कन्टेनर रोकेर राखिएको थियो तर विभिन्न सरोकारवालाको उपस्थितिमा मुचुल्का गरेर फेरि परीक्षणका लागि असार ३१ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा नमुना पठाउँदा साउन ३ गते पुनः खानयोग्य र गुणस्तरीय रहेको प्रतिवेदन आएको सूचना अधिकारी शर्माले बताए ।

उनले सम्बन्धित कार्यालयले गुणस्तरीय भनी प्रतिवेदन पठाइसकेकाले अब सो चामल जाँचपास गरेर पठाइनेसमेत जानकारी दिए । साढे पाँच महिनाअघि खान अयोग्य र गुणस्तरहीन भएको चामल अहिले कसरी खानयोग्य र गुणस्तरीय भयो भनी खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जका प्रमुख सन्तोष दाहालसँग प्रश्न गर्दा उनले आफूहरूले परीक्षण मात्र गर्ने हो भन्दै नमुना पठाउने काम भन्सार कार्यालयको भएकाले जस्तो नमुना आयो त्यस्तै परीक्षण भएको प्रस्ट पारे ।

दाहालले थपे, ‘हाम्रो कार्यालयमा आएको नमुनाको परीक्षण मात्र हामीले गर्ने हो, पहिले पठाएको नमुना परीक्षण गर्दा अखाद्य र गुणस्तरहीन रहेकोले सोही प्रकारको रिपोर्ट पठाएका थियौँ । पछि पठाएको नमुना परीक्षण गर्दा खानयोग्य रहेको पाइएकाले सोही प्रकारको रिपोर्ट पठाएका हौँ, थप कुरा उहाँहरूलाई नै सोध्नोस् ।’ प्रमुख दाहालले पहिलेको नमुना भिजेको र कुहिएको रहेकाले परीक्षणमा अखाद्य देखिएको तर पछिको नमुना सुकेको र राम्रो रहेकाले खानयोग्य देखिएको हुन सक्ने बताए ।

भन्सार कार्यालयमा रहेका चामलका तीन वटा कन्टेनरलाई केही दिनभित्रै जाँचपास गरेर पठाइने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । विश्व खाद्य कार्यक्रमद्वारा सामुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको ५४ हजार किलो चामल डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका तीन वटा कन्टेनरमा लोड गरेर भारतको कोलकाताबाट माघ १५ गते नेपालगन्ज भन्सार ल्याइएको थियो ।

प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन ल्याइएको जनाइएको छ । इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले एक पटक अखाद्य भनी रिपोर्ट आएको चामल अहिले खानयोग्य भनी रिपोर्ट आउनु शङ्कास्पद रहेको जनाउँदै यो चामल बालबालिका वा सर्वसाधारण कसैलाई पनि वितरण गर्न नहुने बताए । उनले यसको विस्तृत छानबिन हुनुपर्ने माग गरे ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १३:५५