आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा छन् ।
अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । ‘सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचित्र कम बन्ने गरेका छन् । एकै कथावस्तु भएको भन्दा पनि यस चलचित्रबाट फरक विषय र प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नोस्वरूप तयार गरेको छु,’ उनले भने ।
यसै चलचित्रमार्फत निर्देशन प्रारम्भ गरेका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए । ‘हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ’, उनले भने । उनका अनुसार चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे र प्रतीक भुजेललगायतले अभिनय गरेका छन् ।
चलचित्रमा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत सिर्जना, शिशिर खातीको नृत्य निर्देशन, मुकेश शाहको पाश्र्व सङ्गीत सिर्जना तथा निशान घिमिरेको रङ संयोजन रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं