सूचनाको शक्ति - The Power Of Information

        

माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहनेछ ।

बुधबारको बैठकमा मौखिक प्रतिवेदन पेश गर्नुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार लिखित प्रतिवेदन ल्याउने बताईएको छ । पार्टीको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन सदस्यहरुलाई वितरण नै नगरी बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरिसकेका छन् ।

केन्द्रिय कमिटिको बैठकमा बुधबार १८ जना सदस्यहरुले धारणा राखे । पहिलो दिन बोल्न ७४ जनाले नाम टिपाएकोमा १८ जनाले मात्रै बोल्न भ्याएका हुन् । प्रत्येक सदस्यलाई बोल्न पाँच मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरुले पार्टीलाई रुपान्तरण गर्न ढिलो भइसकेको र त्यसको सुरुवात अध्यक्ष दाहालबाटै हुनुपर्ने बताएका छन् ।

पूर्व विद्यार्थी नेता हिमाल शर्माले अध्यक्ष दाहाललाई चुनावमार्फत नेतृत्वमा स्थापित हुन सुझाव दिनुभयो । विना प्रतिस्पर्धा ३५ वर्षभन्दा बढी समयदेखि मुख्य नेतृत्वमा रहनुभएका दाहाललाई अब प्रतिस्पर्धा गर्न शर्माले आग्रह गनुृभयो ।

यस्तै, अर्का केन्द्रीय सदस्य कृष्ण केसीले माओवादी नेता कार्यकर्ताको जीवनशैलीमाथि प्रश्न उठाउनुभयो । जीवनशैलीलाई पारदर्शी बनाउन सुझाव दिँदै केसीले २०४६ पछिका भ्रष्टाचारका फाइल खोल्न पार्टी नेतृत्वको सरकारलाई आग्रह गर्नुभयो ।

यस्तै, अर्का केन्द्रीय सदस्य लक्ष्मण पन्तले नारायणहिटीबाट हटाएको सामन्तवाद बालुवाटार सरेको भन्दै नेतृत्वको कटू आलोचना गर्नुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार ०७:४२