सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको ‘ब्लु बस’मा महिलामात्र चढ्न पाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनस्थित आफ्नो निर्वाचन क्षेत्रमा बुधबारबाट निःशुल्क बस सञ्चालनमा ल्याएका छन् । पार्टीको झण्डामा प्रयोग भएको रंग निलो भएकाले उस्तै रंगमा उनले ‘ब्लु बस’ सञ्चालनमा ल्याएका हुन् ।

लामिछानेले आफू निर्वाचित भएको १०० दिनको अवसरमा बुधबार आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । सो क्रममा विशेष कार्यक्रमको घोषणा गर्दै महिलाका लागि मात्र ‘ब्लु बस’ सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालन हुनेछ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने बताइएको छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुनेछ ।

लामिछानेले निर्वाचनको समयमा घोषणा गरेको विदेशमा रहेका १०० जनालाई नेपालमा रोजगारीको घोषणा गरेका छन् । उनीहरुलाई मासिक रु ४० हजारदेखि रु एक लाख ५० हजारसम्मको तलबको व्यवस्था हुने जनाएका छन् ।

लामिछानेले हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भन्दै पहिलो कार्यक्रम आगामी भदौ १० गतेका लागि घोषणा गरेका छन् । पैसठ्ठी वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

त्यसमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको समूहले घरमा नै पुगेर सेवा दिने उनको भनाइ छ । थप उपचार आवश्यक परेमा परामर्श गरी अस्पताल पठाउने व्यवस्था मिलाइने भएको पनि रास्वपाले जनाएको छ ।

यस्तै, स्वास्थ्य चितवन अभियानअन्तर्गत आफ्नो क्षेत्रका विपन्न नागरिकलाई रु पाँच लाख बराबरको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिने उनले बताए । पहिलो चरणमा १०० जनालाई समावेश गरिनेछ । लामिछानेले पहिलो चरणमा दुई विद्यालयका कक्षा ११ र १२ लाई नमुना विद्यालयका रुपमा विकास गर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाको रामनगर मावि र कालिका नगरपालिकाको चतुर्मुखी माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पहिलो चरणमा उत्कृष्ठ शिक्षा दिएर ती दुई विद्यालय नमुना बनाइने छ ।

कार्यक्रमको घोषणाका क्रममा नारायणगढ–मुग्लिन सडकमा वर्षातको समयमा यात्रुले दुःख पाउने गरेको भन्दै उनले २० जनाको स्वयमसेवी समूह (आरएट) परिचालन गरिने बताए । उनका अनुसार वर्षातको समयमा मात्र यो ¥यापिट एक्सन टिम परिचालन हुनेछ ।

उनकै कार्यक्रममा आफूले प्राप्त गरेको मत ५४ हजार १७४ बराबर फलफूल र अन्यका बिरुवा निर्वाचन क्षेत्रमा रोपिने जनाइएको छ । मतदाताको सम्मानमा लामिछानेले आजै भरतपुरको बसेनीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । कार्यालयमा प्रमुख कार्यकारी अधिकृतका रुपमा हेमन्त बराललाई नियुक्त गरिएको छ ।

कार्यालयको लामिछानेसहित पार्टीका नेताले घण्टी बजाएर उद्घाटन गरेका थिए । लामिछाने पहिलोपटक निर्वाचित भएपछि नागरिकताको विवादका कारण सर्वोच्चको फैसलासँगै पद रिक्त भएको थियो । उपनिर्वाचन भएर दोस्रोपटक निर्वाचित भएको बुधबार १०० दिन पुगेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १६:५१