कपुरकोट हाटबजारमा गोलभेडा (टमाटर)ले अहिले सम्मकै धेरै मूल्य पाएको छ । किसानले अहिलेसम्मकै धेरै मूल्य १४० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका छन् । हाटबजारमा एकै दिन ६० लाख ४८ हजार रुपैयाँ बराबरको तरकारी र फलफूल कपुरकोटबाट बिक्री भएको छ ।
मङ्गलबार मात्र कृषिउपज बजार केन्द्रका अनुसार ६८ हजार २८९ किलो तरकारी फलफूल एकै दिन बिक्री भएको छ । कपुरकोट गाउँपालिका–३ का तुलसी केसीले तरकारी खेती गर्न थालेको १० वर्षको समयमा पहिलो पटक धेरै मूल्यमा गोलभेडा बिक्री भएको बताए । उनले भने, ‘उचित मूल्य पाएपछि साह्रै खुसी लागेको छ ।’
हाटबजारबाट ४३ लाख बढी रकमको टमाटर बिक्रीबाट मात्र आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर विक्रीबाट ४३ लाख ३ हजार ७५० रुपैयाँ, ४ हजार ५६५ किलो काउली बिक्रीबाट १ लाख ९४ हजार १२ रुपैयाँ, ३ हजार ८९५ किलो भेडेखुर्सानी विक्रीबाट ३ लाख १ हजार ८६५ रुपैयाँ र ११ हजार ७०० किलो बन्दा विक्रीबाट २ लाख ४ हजार ७५० रुपैयाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।
कृषिउपज बजार केन्द्र कपुरकोटका अनुसार गोलभेँडा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म, पुरानो अदुवा १४० देखि १५० मा किनबेच भएको हो । यस्तै, किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडेखुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपैयाँ प्रतिकिलो बिक्री भएको हो ।
केन्द्रका बजार प्रतिनिधि चन्द्रमणि खड्काले सिमी ४५ देखि ५० रुपैयाँ प्रतिकिलो बिक्री गरेका किसानले लोकल काँक्रा ५० देखि ५५ र उन्नत काँक्रा १० देखि १२ रुपैयाँ प्रतिकिलो बिक्री गरिएको बताए । कपुरकोट गाउँपालिका भित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगायत शहर बजारमा जाने गरेको छ ।
कपुरकोटमा हप्ताको मङ्गलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्छ । अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका–६ वटै वडामा रहेको तरकारी सङ्कलन केन्द्रमा पनि किसानले आफ्नो उत्पादन विक्री गर्ने गर्छन् । यहाँबाट एक महिनाको अवधिमा ७ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ ।
गत असार १ गतेदेखि ३१ गतेसम्म १३ लाख १९ हजार ३३५ किलोग्राम तरकारी बिक्री हुँदा सल्यानका किसानले सात करोड २९ हजार १०६ रुपैयाँ प्राप्त भएको छ । कृषिउपज बजार सञ्चालक समिति कपुरकोटका सचिव तिलक शर्माका अनुसार ४ लाख ९५ हजार २१४ किलोग्राम टमाटर बिक्रीबाट ३ करोड ७० लाख ३ हजार २६८ रुपैयाँ आम्दानी भएको छ ।
३ लाख ४२ हजार ७७२ किलोग्राम बन्दागोबीबाट ३० लाख ८४ हजार ९४८ रुपैयाँ, ८९ हजार ६०० काउलीबाट ६२ लाख ७२ हजार रुपैयाँ, ९७ हजार ६५४ किलोग्राम सिमीबाट १ करोड २२ लाख ७ हजार २५० रुपैयाँ, १ लाख ८९ हजार ४२० किलोग्राम भेडेखुर्सानीबाट १ हजार ३६ लाख ३८ हजार २४० रुपैयाँ र १० हजार ५५० किलो हरियो खुर्सानीबाट १३ लाख १८ हजार ७५० रुपैयाँ भित्रिएको छ ।
यस्तै, १९ हजार ५०० किलोग्राम माछे खुर्सानीबाट ५८ लाख ५० हजार रुपैयाँ, ९५५ किलोग्राम अकबरे खुर्सानीबाट १५ लाख २८ हजार रुपैयाँ, ५३ हजार १३० किलोग्राम काँक्रो बिक्रीबाट १५ लाख ९३ हजार ९०० रुपैयाँ, ५ हजार ७३० किलोग्राम मुलाबाट ८५ हजार ९५० रुपैयाँ, ५ हजार ७ सय किलोग्राम पुरानो अदुवा (बुर्नी) बाट १० लाख २६ हजार रुपैयाँ, ५३० किलोग्राम सागबाट ५३ हजार रुपैयाँ, ७ हजार किलोग्राम नास्पातीबाट १० लाख ५ हजार रुपैयाँ र १ हजार ५८० किलोग्राम लसुनबाट १२ लाख ६४ हजार रुपैयाँ किसानले आम्दानी गरेका छन् ।
समितिका सचिव शर्माका अनुसार कपुरकोट गाउँपालिकाबाट ६ महिनाको अवधिमा वार्षिक ३० करोडभन्दा बढीको तरकारी जिल्ला बाहिर निर्यात हुनेगरेको छ । कपुरकोटमा उत्पादन भएको तरकारी, नेपालका ठूला शहर, काठमाडौ, नेपालगन्ज, बुटुवल, धनगढी, दाङ लगायत भारतसम्म निकासी हुने गरेको छ ।
सत्यपाटी संवाददाता । सल्यान