चीनको राजधानी बेइजिङ लगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा १४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ ।
बेइजिङमा सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार ४०० जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् । बाढीपहिरोमा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएको बताइएको छ ।

सत्यपाटी संवाददाता । बेइजिङ