सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज भूकम्पको उच्च जोखिममा

नेपालगन्ज उपमहानगरका दुई वटा वडाका ११ हजारभन्दा बढी सर्वसाधारण भूकम्पको उच्च जोखिममा रहेका छन् । उपमहानगरको सबैभन्दा पुरानो र घनाबस्तीका रूपमा रहेको वडा नं.३ र वडा नं.७ का अधिकांश घर भूकम्प प्रतिरोधी मापदण्डविपरीत निर्माण गरिएकाले ती दुवै वडाका ११ हजार ८०० भन्दा बढी सर्वसाधारण भूकम्पको अत्यधिक जोखिममा छन् ।

बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययन अनुसार पश्चिमको कुनै पनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगन्जका तीन हजार घर ध्वस्त हुन सक्ने देखिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका प्रमुख प्रशान्त विष्टले भूकम्पबाट हुन सक्ने क्षति रोक्न र कम गर्न सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजनामार्फत विभिन्न कार्य भइरहेको बताए ।

उनले विपत् जोखिम बिमा सम्बन्धी कार्यविधि–२०८० बनाएर जोखिमग्रस्त क्षेत्र आवास बिमा लागु गरिएको जनाउँदै यसरी यो कार्यविधि बनाउने र आवास बिमा लागु गर्ने नेपालगन्ज देशकै पहिलो स्थानीय तह भएको दाबी गरे । सो बिमा कार्यक्रम भूकम्पको अत्यधिक जोखिममा रहेको नेपालगन्जको वडा नम्बर ३ र ७ मा लागु गरिएको छ ।

उपमहानगरका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रिजालले दुई वटा वडाका पुरानो बस्ती र मापदण्डविपरीत निर्माण भएका अधिकांश घर भूकम्पको अत्यधिक जोखिममा रहेकाले उनीहरूको विपत् जोखिम हस्तान्तरणका लागि बिमा कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार सो कार्यक्रम अन्तर्गत उपमहानगरले जोखिममा रहेका घरको १५ लाखको बिमाबापत लाग्ने प्रिमियम दिने र सोभन्दा बढीको बिमा गराउन चाहनेले प्रिमियम थपेर दिन सक्ने व्यवस्था मिलाइएको बताए ।

सो बिमा कार्यक्रमले भूकम्प मात्र नभई आगलागी, बाढी डुबान, जमिन धसिने वा भासिने, हावाहुरी, चट्याङ र हवाई दुर्घटनाबाट भएको क्षतिमा पनि सुरक्षा प्रदान गर्नेछ । सहरी विपत् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले उपमहानगरका जोखिममा रहेका वडामा विभिन्न तालिम दिनुका साथै सर्वेक्षण, नक्साङ्कन लगायतका काम गरिसकेको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १४:२६