सूचनाको शक्ति - The Power Of Information

        

३२ ठाउँमा घरजग्गा भएका उपसचिवलाई भ्रष्टाचार मुद्दामा सफाई

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव हेमराज विष्टलाई सफाइ दिएको छ । मंगलबार विशेषले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई समेत यस मुद्दामा अभियोग ठहर नहुने फैसला सुनाएको हो । बिष्टको ३२ ठाउँमा घरजग्गा भेटिएको थियो ।

झन्डै आधा अर्ब सम्पत्ति भएका उनले सफाई पाएपछि आश्चर्य मानिएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट यस्तो फैसला भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो ।

विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो । उनी सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका वेला उनीमाथि मुद्दा दायर भएको थियो । हाल खारेज भइसकेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरी झन्डै सात करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको अभियोग उनीमाथि थियो ।

विष्ट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत वन उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रम अन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रहेको देखिएको सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले विष्टमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । विष्ट २०५५ साल वैशाख २७ गतेदेखि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका थिए । कात्तिक २०७७ सम्म उनको आयव्यय गणना गर्दा ६ करोड ८७ लाख ५७ हजार रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेपछि अख्तियारले मुद्दा चलाएको हो ।

सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षमा उनको वैध आय १७ करोड ३७ लाख रुपैयाँ हुनुपर्नेमा २४ करोड २४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति, लगानी र व्यय गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । जसपछि उनीमाथि मुद्दा चलाइएको हो । मुद्दा दायर भएको डेढ वर्षमै मुद्दा फैसला गर्दै विशेषले सफाइ दिएको छ ।

अहिलेको बजार मूल्य अनुसार उनको सम्पत्ति ५० करोडभन्दा धेरै छ । राजधानीका साथै भक्तपुरसमेतका विभिन्न स्थानमा विष्ट दम्पत्तिका नाममा जग्गा भेटिएको थियो । श्रीमती रुबीका नाममा दाङ, कैलाली, कञ्चनपुरजस्ता विभिन्न ३२ स्थानमा घर–जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । १९ वटा बैंकमा खाता रहेकोसमेत खुलेको थियो ।

दार्चुला शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव विष्टले काठमाडौंमा मात्रै २२ वटा घर खरिद गरेका छन् । सुदुरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीमा निमित्त वन निर्देशक पदमा रहेका विष्टले सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा गरेको आर्थिक प्रगतिबारे अध्ययन गर्न अख्तियारलाई दुई वर्षभन्दा बढी लागेको थियो ।

उनले विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको समेत पाइएको छ । अख्तियारका अनुसार विष्टले काठ तथा वन्यजन्तु तस्करीमा जोडिएका मानिससँग सेटिङ मिलाउने र कमिशन लिने गतिविधि गर्दै आएका थिए । उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको फर्जी हस्ताक्षर गरेर रकम भुक्तानी लिने लगायत तस्करीमा समेत उनको संलग्नता रहेको थियो ।

गत पुस २१ गते सार्वजनिक विज्ञप्ति अनुसार अख्तियारले उनलाई ६ करोड ८७ लाख ५७ हजार विगो र स्रोत नखुलेको जग्गा जमिन राज्यको नाममा जफत गर्न भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियार स्रोतका अनुसार उनले जोडेको जग्गा जमिनको अहिलेको बजार भाउमा एक अर्बभन्दा बढी जान्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १२:२१