पूर्वी चीनस्थित एउटा चिडियाखानाले जनावरको भेषमा मान्छे नराखिएको र आफूकहाँ सक्कली भालुहरू नै भएको बताएको छ । खाङ्जो चिडियाखानामा मान्छेले जसरी दुई खुट्टा टेकेर उभिएको देखिने एउटा जीवको भिडिओ भाइरल भएपछि उसले त्यस्तो स्पष्टीकरण दिएको हो ।
उक्त चिडियाखानाले ‘सन बेअर’ जातको भालुबारे मानिसहरूलाई ‘पर्याप्त जानकारी नभएको’ जनाएको छ । त्यसअघि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले चिडियाखानामा भालुको भेषमा मान्छे राखिएको हुनसक्ने आशङ्का व्यक्त गरेका थिए । ‘सन बेअर’ संसारकै सबैभन्दा साना प्रजातिको भालु हो । खाङ्जो चिडियाखानाका अनुसार उक्त जातको भालु ठूलो कुकुरजत्रो मात्र हुन्छ ।
आशङ्का किन ?
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा सन बेअर आफ्नो खोरको एउटा कुनामा सीधा उभिएको र उसले हत्केला खोलेर आगन्तुकहरूतिर हेरिरहेको देखिन्छ । सामाजिक सञ्जालमा मानिसहरूले पातलो खुट्टा हुने त्यो भालुले कसरी त्यति सीधा उभिन सक्यो भनेर प्रश्न गरेका छन् ।
उनीहरूले त्यसको पुट्ठामा देखिएको छालाको थैलोजस्तो आकृतिबारे पनि प्रश्न गरेका थिए । कतै त्यो भालुजस्तो देखिन बनाइएको भद्दा आवरण पो हो कि भन्ने उनीहरूको शङ्का थियो । एन्जेला नामक उक्त पोथी भालुको दृष्टिकोणबाट लेखिएको खाङ्जो चिडियाखानाको पोस्टमा भनिएको छ, ‘केही मानिसहरूलाई म मान्छे जसरी उभिन्छु भन्ने लाग्छ । तपाईँहरूले मलाई राम्रोसँग बुझ्नुभएको छैन जस्तो छ ।’
‘भालुको सन्दर्भमा मस्तिष्कमा आउने पहिलो कुरा ठूलो शरीर र अद्भुत शक्ति हो तर सबै भालुहरू भीमकाय र खतरनाक हुँदैनन् ।’ उक्त चिडियाखानाले सन बेअर ‘सानो शरीर भएको, संसारको सबैभन्दा सानो भालु’ रहेकोमा जोड दिएको छ । खाङ्जो जूको पोस्टमा लेखिएअनुसार ती भालुहरू आफ्नो पछाडिको खुट्टाका भरमा उभिँदा सरदर १.३ मिटर अग्ला हुन्छन् ।
अर्थात् ती जीव उत्तर अमेरिकाका रैथाने खैरो भालुभन्दा आधाजति होचा हुन्छन् । उक्त चिडियाखानाका एक कर्मचारीले एपी समाचारसंस्थालाई टेलिफोनमा बताएअनुसार सोमवार पत्रकारहरूलाई उक्त भालु हेर्ने व्यवस्था मिलाइएको थियो ।
चेस्टर चिडियाखानाका एक विज्ञ डा एश्ले मार्शल उक्त भिडिओमा देखिएको जनावर ‘निश्चित रूपमा एउटा वास्तविक भालु’ भएको बताउँछिन् । उनी सन बेअर प्रायः ‘लुगा लगाएका मानिसहरूजस्तो’ देखिने कुरा स्वीकार गर्छिन् ।
बीबीसीको पीएम कार्यक्रममा उक्त भालुको पुट्ठाको छालाको स्वरूपबारे सोधिँदा उनले त्यो उसको शारीरिक संरचनाको सामान्य तर निकै महत्त्वपूर्ण पक्ष रहेको बताइन् । उनका अनुसार छालाका त्यस्ता लर्कनले ती भालुलाई सिकारीहरूबाट जोगिन सघाउँछ । ‘बाघजस्ता ठूला जनावरले समाते भने ती भालुले फुर्तिलो भएर पछाडि फर्किन र प्रतिकार गर्न सक्छन् ।’
सत्यपाटी संवाददाता । काठमाडौं