सूचनाको शक्ति - The Power Of Information

        

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।

हिजो ४७ जना सदस्यको समर्थनका साथ मुख्यमन्त्रीमा नियुक्त थापाको शपथ बिहान साढे १० बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय गरिएको छ ।

थापाले आजै मन्त्रिपरिषद विस्तारको तयार गरेका छन् । उनले यसअघिकै मन्त्रीहरूलाई निरन्तरता दिने बुझिएको छ ।

गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया फेरि सुरु गर्न परमादेश दिएको थियो । हिजो सभामुख गौतमलाई राजीनामा गराएर थापा फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ०८:१७