नेकपा (एकीकृत समाजवादी)की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन् । झाँक्रीले पूरानै घर (एमाले)मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन् ।
आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ । अध्यक्ष नेपालले पार्टी पनि एकलौटी ढंगले चलाएको भन्ने उनको आरोप छ । नेतृ झाँक्रीले एमाले नेताहरुसँग सम्पर्क बढाएकी छिन् । पछिल्लो समय उनले योगेश भट्टराईसँग एमाले फर्किनेबारे अलिक लामो बहस गरेको स्रोतको दाबी छ ।
चुनाव सकिएलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको खुलासा गरेकी थिइन् । तर, त्यतिवेला भने उनले एमालेमा फर्कनको लागि भन्दापनि वामपन्थीहरुकै नेतृत्वमा सरकार बनाउन र माधव नेपाललाई राष्ट्रपति बनाउने र एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गरेको बताइएको छ ।
झाँक्री नेकपा (एस)मा भूमिकाविहीनजस्तै छिन् । उनको अहिले अध्यक्ष माधव नेपालसँग पनि राम्रो सम्बन्ध छैन । खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री हुँदा माधव नेपालले अपमानजनक ढंगले फिर्ता बोलाएकोमा उनले भेटेरै आक्रोश पोखेकी थिइन् ।
नेपालले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन दिने भन्दै अहिले नहटाउने वचन दिएपनि पछि थाहै नदिई सरकारबाट फिर्ता बोलाएको उनको गुनासो रहँदै आएको छ । अहिले भने उनले एमालेमा नै फर्कने मन बनाएको र त्यसको लागि अन्तिम तयारी गरिरहेको उनीनिकट स्रोतको दाबी छ ।
सत्यपाटी संवाददाता । काठमाडौं