सूचनाको शक्ति - The Power Of Information

        

सुन प्रकरणको अनुसन्धान जारी

सुन काण्डमा किन आत्तियो प्रमुख प्रतिपक्ष एमाले ?

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणमा राम्रो काम गरेको भनेर जनताबाट स्यावासी पाइरहेका बेला सुन प्रकरणमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर आफनो छवि धमिल्याएको छ ।

भन्सार कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म सेटिङ मिलाएर नेपालमा चिनियाँ गिरोहले सयौं केजी सुन तस्करी गरिसकेको पुष्टि भएको छ । राजश्व अनुसन्धान विभागको दुई साता लामो अनुसन्धानबाट यसको संरक्षण राजनीतिक तहबाटै भएको पुष्टि हुन्छ । त्यही भएर प्रमुख प्रतिपक्ष एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

सय केजी सुन बरामद गरिएपछि एमाले अध्यक्ष केपीशर्मा ओली अस्वाभाविक ढंगले सरकारप्रति आक्रामक बन्दै आएका छन् । कम्बोडियाको निर्वाचन पर्यवेक्षण सकेर नेपालमा पाइला टेक्नासाथ ओली उत्तेजित हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसामु प्रस्तुत भएका थिए । उनको प्रसंग नै उल्लेख नगरेको एक दैनिकलाई तथानाम गाली गरेका थिए ।

उक्त पत्रिकामा दीपक मलहोत्राको फोटो छापिएको थियो । लगत्तै मलहोत्राले आफ्नो संलग्नता नभएको भनेर पत्रकार सम्मेलन नै गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करको जरैसम्म पुगेर अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीले भ्रष्टाचारका अन्य फाइल खोलिने सार्वजनिक रुपमा बताइसकेका छन् ।

जसबाट एमाले सरकारप्रति आक्रामक बन्दै आएको छ । एमालेले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको छ । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणमा राम्रो काम गरेको भनेर जनताबाट स्यावासी पाइरहेका बेला सुन प्रकरणमा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर आफनो छवि धमिल्याएको छ ।

सुन काण्ड कहिलेदेखि सुरु भयो र त्यसमा को–को उच्च राजनीतिक नेताहरूको संलग्नता छ भन्नेबारे सरकारले विस्तृत अनुसन्धान गर्दैछ । यस क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘कोट’ वा ‘टार’ जो सुकैको संलग्नता भए पनि नछाड्ने कुरा पत्रकारसामु बताएपछि ओली थप आक्रमक बन्दै गृहमन्त्रीमाथि सुन तस्करीको आरोप लगाउँदै तल्लो स्तरमा झरेका छन् ।

लहरो तान्दा पहरो गर्जने भयले एमाले चिन्तामा परेको छ । राजस्व अनुसन्धान विभागले करिब एक सय केजी सुन बरामद गरेपछिको अनुसन्धानमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । जसमध्ये केही उच्च राजनीतिक तहसम्म सम्पर्क भएकाहरू व्यक्तिहरू समेत छन्, जसले नेताहरूसम्मकै सेटिङमा सुन तस्करी हुँदै आएको संकेत दिएको छ ।

राजश्व अनुसन्धान विभागका अधिकारी भन्छन्– भन्सारमा चरम लापरबाही हुनु र तस्करहरूको नेताहरूसँग निकटता हुनु संयोग मात्र होइन, प्रमाणले नै हामी यसलाई पुष्टि गर्ने प्रयासमा छौं । गत २ असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब एक सय केजी सुन सिनामंगलबाट बरामद भएको थियो ।

सुराकीको आधारमा विभागले सुन बरामद गरी अनुसन्धान गर्दा यसमा तीनजना भन्सार कर्मचारीसमेत पक्राउ परिसकेका छन् । विभागले चिनियाँ गिरोहको बालुवाटार, सोह्रखुट्टे, लाजिम्पाट र टोखामा छापा हानी उनीहरूको गोदाम फेला पारेको छ । जहाँ हङकङबाट कार्गाे हुँदै ल्याउने सुन निकालेर वितरण हुन्थ्यो ।

ती गोदाममा सुन लुकाएर ल्याएको ब्रेक सु लगायतका सामान बरामद भएको थियो । ठूलो परिमाणमा ती सामान बरामद हुनुले सो गिरोहले सयौं केजी सुन यसअघि तस्करी गरिसकेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् । यो प्रकरणमा शनिबार दावा छिरिङ पक्राउ परेपछि यसमा संलग्न उच्चस्तरका व्यक्तिहरू त्रसित भएका छन् ।

विगत पाँच वर्षदेखि नेपाल बस्दै आएका चिनियाँ मुलका छिरिङ विगतदेखि नै विभिन्न किमिसका अपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । ठमेलमा होटल भियना चलाउँदै आएका उनको माओवादीका अधिकांश उच्च नेतासँग निकटता छ । नेताहरूलाई उनले आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

नेताहरूकै आडमा उनले नेपालमा विभिन्न किसिमका अपराध गर्दै आएको प्रहरी अधिकारी बताउँछन् । यसपटक पक्राउ परे पनि उनको नेटवर्कका सबै व्यक्तिहरू अनुसन्धानको दायरामा आउनेमा आशंका व्यक्त गरिएको छ । किनकी, विगतमा धेरै अपराधमा उनी जोडिदा पनि माओवादीका उच्च नेताहरूको दबाबका कारण अनुसन्धान हुन सकेको थिएन ।

भन्सारदेखि प्रहरीसम्म प्रश्नको घेरामा

सुन तस्करी प्रकरणमा उच्चस्तरीय सेटिङ देखिने दर्जनौं आधार छन् । पहिलो त विमानस्थलको लापरबाहीबाट यसको पुष्टि हुन्छ । सुन पास भएको दिन विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुनचन्द ठकुरी र भन्सार प्रमुख अरुण पोखरेल दुवैजना बिदामा थिए । दुवै जना लामो बिदामा बस्नु र त्यहीबेला सुन तस्करी हुनु संयोग मात्र हुन सक्दैन ।

भन्सार प्रमुख पोखरेलले आफुमाथि अत्याधिक दबाब आएकाले अध्ययनका लागि भन्दै बिदा लिएको निकटस्थहरूसँग बताउँदै आएका छन् । अर्काेतर्फ भन्सार विभागको महानिर्देशक फेरिएको दुई महिना मात्र भएको थियो । शोभाकान्त पौडेल भर्खरै मात्र भन्सारमा गएका थिए । आन्तरिक राजश्व विभागमा पनि महानिर्देशक परिवर्तन हुनासाथ सुन बरामद थियो ।

भन्सार विभागले पनि यत्रो सुन तस्करी भइरहेको विषयमा कुनै जानकारी नपाउनु रहस्यमय विषय छ । स्रोतका अनुसार भन्सार विभागमा महानिर्देशक पठाउन एक महिनासम्म रस्साकस्सी भएको थियो । यसमा व्यापारीहरुको ठूलो चासो थियो । अर्काेतर्फ भारतबाट आउने मोटरसाइकल तथा स्कुटरको ब्रेक सु किन हङकङबाट जहाज हुँदै आयो भन्ने कुरामा भन्सारका कर्मचारीले पटक्कै चासो दिएको देखिन्न ।

मोटरसाइकलका यस्ता पार्टपुर्जा जहाजबाट ल्याउँदा दोब्बर महंगो पर्छ । यो विषय भन्सारका कर्मचारीलाई पक्कै थाहा छ । तर, थाहा नभएजसरी सामान पास गर्दै आएका थिए । अर्काेतर्फ यसरी सामान आउँदा एक्सरेमा पनि शंकास्पद देखेर केही कर्मचारीले आरसी लेखेका थिए । तर, पनि थप चेकजाँच बिना नै पास गर्नुले भन्सारको उपल्लो तहसम्मको मिलेमतोको संकेत दिन्छ ।

‘भन्सारका कर्मचारीलाई सामान्यतया कुनै पनि सामानको तौल थाहा हुन्छ,’ राजश्व अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘ब्रेक सुको तौल अस्वाभाविक हुँदा पनि किन उनीहरूले यसमा प्रश्न गरेनन् ? उनीहरूले किन खोलेर हेरनन्, सामानमा आरसी लेखेर पनि थप अनुसन्धान नै नगरी पटक पटक पास हुनु सामान्य विषय होइन ।’

अर्काेतर्फ भन्सारमा हालै नयाँ एक्सरे मेसिन जडान गरिएका छन् । ती मेसिन पुराना भन्दा कमसल छन् । पुरानो मेसिनले सुन पत्ता लगाउनेमा नयाँ मेसिनमा नदेखिने गरेको भन्सार स्रोत बताउँछ । त्यसकारण कतै सुन तस्करकै योजनाअनुसार विमानस्थल भन्सारमा नयाँ एक्सरे मेसिन जडान गरिएको त होइन भन्ने प्रश्न समेत उठेको छ ।

सुन तस्करहरूलाई विमानस्थल भन्सारको नयाँ मेसिनमा सुन ल्याउँदा मेसिनले ‘डिटेक्ट’ गर्न सक्दैनथ्यो भन्ने राम्रोसँग थाहा थियो । यसको सूचना भन्सार कर्मचारीबाटै उनीहरुले पाएको आशंका गरिएको छ । यसमा सुन तस्करी राज्यसंयन्त्रकै मिलेमतोमा संगठित रुपमा हुँदै आएको पुष्टि हुन्छ ।

विगतमा ३८ क्विन्टल तस्करीमा पनि गिरोहले विमानस्थललाई नै आफ्नो प्रभावमा पारेर पाँच वर्षसम्म सुन तस्करी गरेको पत्ता लगाएको थियो । त्यसमा देशका ठूला व्यापारीसम्मको कनेक्सन देखियो । तर, त्यसउपर विस्तृत छानबिन हुन सकेन । जसकारण ठूला तस्करले उन्मुक्ति पाएका थिए ।

गृह मन्त्रालयका तत्कालिन सहसचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा देशका दुई सय भन्दा धेरै ठूला तस्करमाथि कारबाहीको सिफारिस गरेपनि त्यो कार्यान्वायन हुन सकेन । अहिले तिनै समूहले देशमा तस्करी लगायत अवैध सामाज्य चलाइरहेका छन् ।

अहिले पनि सुन तस्करी गर्ने गिरोहको जरैसम्म पुग्न नसके उनीहरूले फेरि पनि नेपाललाई अपराधको अखडा बनाइराख्ने निश्चित छ । त्यसकारण सय केजी सुन तस्करी प्रकरणका नाइके खोज्नु जरुरी छ । तस्करी गिरोहलाई ध्वस्त बनाउन सके मात्र प्रधानमन्त्री प्रचण्डले भाषणमा भनेजस्तो सरकारले साँच्चिकै भ्रष्टाचारको जालो तोड्न सफल हुनेछ ।

अख्तियारले पनि थाल्यो छानबिन

विमानस्थलबाट लामो समयदेखि सुन तस्करी हुँदै आएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै छानबिन थालेको छ । भन्सार कर्मचारी र प्रहरीको मिलेमतोमाको आशंकामा आयोगले छानबिन थालेको हो । स्रोतका अनुसार आयोगले भन्सारसँग यसबारे केही कागजपत्र मगाइसकेको छ ।

विमानस्थलमा कार्यरत कर्मचारी र प्रहरीको सम्पत्तिबारे पनि प्रारम्भिक छानबिन सुरु भएको छ । ‘यसरी विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी सामान्य विषय होइन,’ आयोगका एक अधिकारी भन्छन्, ‘यसमा पक्कै राज्य संयन्त्रका धेरै व्यक्तिको मिलेमतो हुन सक्छ, हामीले यसमा सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’

भन्सारका कर्मचारीको चरम लापरबाही देखिनु संयोग मात्र हुन नसक्ने अख्तियारका अधिकारीको बुझाइ छ । यसमा भन्सारका उच्च तहका अधिकारीसम्मलाई बयानका लागि बोलाउने आयोगको तयारी छ । कार्गाेमा प्रहरीको प्रत्यक्ष भूमिका नभएपनि अप्रत्यक्ष रुपमा उनीहरुले पनि सघाएको सूचना अख्तियारलाई छ ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १२:२७