गोलभेँडाको भाउ बढेसँगै किसानलाई राहत भएको छ ।
गएको असार ३ गते किलोको ५ रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका थिए ।
अहिले भने किसानले किलोको ६५ देखि ७५ रुपैयाँमा गोलभेँडा बेचिरहेका धादिङका अगुवा किसान श्यामचन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार किसानले अहिले खेतबारीमै किलोको ६५ देखि ७५ रुपैयाँसम्म पाएका छन् ।
गोलभेँडा उत्पादनको सिजन नहुँदा बजारमा अहिले भाउ बढेको छ । कालीमाटी थोक बजारमा आज ठूलो गोलभेँडा किलोको १२० देखि १४० रुपैयाँ छ । यस्तै, लोकल सानो गोलभेँडा ४५ देखि ५५, टनेलको सानो गोलभेँडा ८५ देखि ९५ रुपैयाँ थोक मूल्य छ ।
उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भन्दा महँगो पर्छ । काठमाण्डौमा उपत्यका आसपासका क्षेत्र र छिमेकी जिल्लाहरु धादिङ, काभ्रे, मकवानपुरलगायतबाट गोलभेँडा भित्रिरहेको छ ।
कालीमाटीमा अहिले दैनिक ४० देखि ४५ टन गोलभेँडा भित्रिरहेको छ । अरु बेला दैनिक ६० देखि ६५ टन भित्रने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ