जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले देशका केही ठाउँमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । मंगलबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ ।
कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ ।
दिउँसो कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम रहेको छ ।
यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं