सूचनाको शक्ति - The Power Of Information

        

आठ वर्षका बालकले अनलाइनबाट एके–४७ राइफल मगाएपछि…

अहिलेसम्म तपाईंले खाद्य वस्तु, ग्याजेट वा अन्य घरायसी वस्तुहरू अनलाइन अर्डर गर्नुभएको होला । तर एक आठ वर्षीय बालकले डार्क वेबमार्फत अनलाइनबाट एके ४७ राइफल अर्डर गरे । यो राइफल उनलाई डेलिभरी पनि दिइएको थियो । यो घटनाबारे बालककी आमाले सुनाइन् । घटना नेदरल्याण्डको हो ।

महिलाले दावी गरेकी छिन् कि उनका ८ वर्षीय छोराले उनलाई थाहा नदिई अनलाइनबाट एके ४७ किनेका थिए । जब यो राइफल घर पुग्यो, उनी छक्क परिन् । उनले तुरुन्तै जानकारी जुटाउन थालेपछि थाहा भयो कि यसको पछाडि डार्क वेब अर्थात इन्टरनेटको ब्ल्याक वर्ल्ड रहेको छ । जहाँ त्यस्ता गैरकानूनी गतिविधिहरू अन्धाधुन्ध रूपमा गरिन्छ ।

डार्क वेब इन्टरनेटको त्यो भाग हो, जहाँ गुगल, बिंग जस्ता सर्च इन्जिनहरूमार्फत उपलब्ध सामग्री पहुँच गर्न सकिँदैन । यसका लागि विशेष ब्राउजर र अनुमति चाहिन्छ । डार्क वेबमा रहेका सामग्री कुनै पनि कानूनको दायरामा आउँदैन । यसबाट लागुऔषध, हतियार लगायतका सबै गैरकानुनी कामहरु भइरहेका छन् ।

यसले ओनियन राउटिंग टेक्नोलोजीमा काम गर्दछ, जसले प्रयोगकर्ताहरूलाई ट्र्याकिङ र निगरानीबाट जोगाउँछ । यहाँ यस्ता घोटाला गर्नेहरू पनि छन्, जसले प्रतिबन्धित चीजहरू धेरै सस्तोमा बेच्छन्। सस्तोमा सामान किन्ने क्रममा मानिसहरूले लाखौं रुपैयाँ गुमाउँछन् । महिलाका छोरा यस्तै ठगको जालमा फसे र अनलाइन राइफल अर्डर गरे ।

युरोन्यूजलाई दिएको अन्तर्वार्तामा, एके–४७ किन्ने बालककी आमा बारबरा जेमेनले उनका छोरा सानै उमेरमा कसरी साइबर अपराधको चपेटामा परे भन्नेबारे चर्चा गरिन् । बारबराका अनुसार उनका छोराले कम्प्युटरमा धेरै समय बिताउने गर्थे र ८ वर्षको उमेरमा ह्याकिङ गर्न थाले । उनले ह्याकरहरुले आफ्नो छोरालाई मनी लन्ड्रिङका लागि प्रयोग गरेको बताइन् ।

बारबराका अनुसार छोराको कोठामा जाँदा उनी अनलाइन गेम खेल्दा कोड वर्डमा कुरा गर्थे । छोराले एके ४७ अर्डर गरेको थाहा पाएपछि अवस्था बिग्रियो । छोराले भन्सार शुल्कबाट बच्नको लागि पोल्याण्डबाट बुल्गेरियामा बन्दुक पठाए, त्यसपछि यो नेदरल्याण्ड्स पुग्यो । बारबराले थप भनिन्, ‘मैले स्थानीय प्रहरी विभागलाई राइफल बुझाएँ । सोधपुछपछि प्रहरीले मेरो छोरामाथि कुनै कानुनी कारबाही गरेन ।

अनुसन्धानमा उनी अन्तर्राष्ट्रिय ह्याकरको जालमा फसेको खुलेको छ । यो घटना पछि, बारबराले साइबर सुरक्षामा आफैलाई प्रशिक्षण दिने निर्णय गरिन् । अहिले उनी डच प्रहरीको साइबर विशेष स्वयंसेवक हुन् । बारबरा भन्छिन् आजकल साइबर क्राइमको सिकार बन्न धेरै सजिलो छ । किनभने, अधिकांश बालबालिकासँग ल्यापटप र मोबाइल छन् । अज्ञात क्लिकको साथमा तिनीहरू ह्याकरहरूको चंगुलमा पर्न सक्छन् । यस्तो अवस्थामा जनचेतना धेरै जरुरी छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार २०:२०