सूचनाको शक्ति - The Power Of Information

        

छोराछोरीलाई ‘जेन्टलम्यान’ बनाउने पाँच सुत्र !

साधरणतया हामी छोराछोरीको लालनपालनका लागि बढी चिन्तित हुन्छौँ, उनीहरूलाई सर्वगुण सम्पन्न बनाउन हर सम्भव प्रयास गर्छौँ तर आफ्ना छोराछोरी पनि विचारशील र राम्रो मानिस बनुन् भन्ने चाहनुहुन्छ भने उनीहरूको लालन–पालनमा विशेष ध्यान दिन आवश्यक छ । यो चुनौतीपूर्ण लागे पनि तपाईंको थोरै प्रयासले उनीहरूलाई राम्रो मानिस बन्न प्रेरित गर्न सक्नुहुन्छ । छोराछोरीलाई हुर्काउँदा यी कुरामा ध्यान दिनुहोस् ।

जिम्मेवारी दिनुहोस्

पेरेन्टसर्कलका अनुसार सानै उमेरदेखि बच्चालाई जिम्मेवारी दिनुहोस् । यसका लागि तपाईंले उनीहरूलाई स–सानो काम अह्राउन सक्नुहुन्छ । उदाहरणका लागि तपाईंले भान्सामा केही काम गरिरहेका बेला बच्चासँग चम्चा, डाडु, पन्यु माग्न सक्नुहुन्छ । बिहान बेलुका बोट बिरुवामा पानी हाल्न लगाउन सक्नुहुन्छ ।

भावना व्यक्त गर्न सिकाउनुहोस्

धेरै घरमा छोराछोरीलाई रुन दिइँदैन । ‘हेर त कति रोएको’ भन्ने गरिन्छ । तर यहाँ तपाईंले के कुरा याद राख्नुपर्छ भने तपाईंको छोराछोरी कुनै कुरामा रिसाएका छन् उनीहरु रोइरहेका छन् भने रुन दिनुहोस्, तर अनियन्त्रित हुनबाट भने जोगाउनुहोस् । यसरी बच्चाले आफ्नो भावनालाई नियन्त्रण गर्न वा सही तरिकाले व्यक्त गर्न सिक्न थाल्छ । तपाईं आफ्नो बच्चालाई रिस, प्रेम, दुःखलाई बुझ्न र त्यसलाई राम्रो तरिकाले व्यक्त गर्न सिकाउन सक्नुहुन्छ ।

स्पर्शसहित माया व्यक्त गर्नुहोस्

आमाबुवाले छोरीको तुलनामा छोरालाई कम स्पर्श गरेर माया व्यक्त गर्ने गरेको अनुसन्धानमा खुलासा भएको छ । तर छोरालाई पनि स्पर्शको त्यति नै आवश्यकता पर्छ जति छोरीलाई पर्छ । तपाईंको छोराछोरी साथीहरू वा अरू मानिसको अगाडि तपाईंले माया गर्दा लजाए पनि उनीहरूलाई तपाईंको स्पर्श चाहिन्छ । बच्चाले अप्ठेरो मानिरहेको छ भने पनि तपाईंले उसको पिठ्युँमा थपथपाउनुहोस्, अँगालो हाल्नुहोस्, हात समात्नुहोस् ।

सामाजिक क्षमता बढाउनुहोस्

धेरैजसो केटाहरू केटीहरूको तुलनामा गहिरो दोस्ती गर्नमा पछि पर्छन् । यस्तोमा तपाईं उनीहरूलाई साथी बनाउन, आफ्ना कुरा साझा गर्न, मानिसहरूलाई मद्दत गर्ने क्षमताको विकास गर्न सघाउन सक्नुहुन्छ ।

मानिसलाई इज्जत दिन, मेहनत र इमानदारी सिकाउनुहोस्

बच्चाले आफ्नो र अरू मानिसको इज्जत गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि हरेक उमेर, लिङ्ग वा वर्गका मानिसको इज्जत गर्नुहोस् । तपाईंको व्यवहारले पनि उनीहरूको व्यवहारमा सकारात्मक विकास हुनेछ । यसो गर्दा बच्चाले महिला र पुरुषलाई सम्मान गर्न त सिक्छ नै क्षेत्रवाद, गरिब–धनी, सोसल स्टेटसका लागि पनि उनीहरूभित्रको मतभेद हट्नेछ ।

बच्चालाई तपाईं बाल्यकालदेखि नै मेहनत गर्नुको महत्त्व सिकाउनुहोस् र मेहनती बन्नका लागि प्रेरित गर्नुहोस् । उनीहरूलाई बाल्यकालदेखि नै सिकाउनुहोस् कि मेहनत नगरी केही पनि पाइँदैन र मेहनत गरे सबै कुरा पाइन्छ । यसका साथै तपाईं उनीहरूलाई इमानदार व्यक्ति बन्न पनि प्रेरित गर्नुहोस् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १९:४५