सूचनाको शक्ति - The Power Of Information

        

नेपालमै डलर कमाई

आइटीमा काम गरेर एक वर्षमै ६७ अर्ब आम्दानी

नेपाली आइटी कम्पनी तथा फ्रिलान्सरले नेपालबाटै विदेशको सेवा दिएर २०२२ मा ६७ अर्ब ६७ करोड २० लाख रुपैयाँ बढी आम्दानी गरेको पाइएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडीएस)ले गरेको एक अध्ययनमा यस्तो तथ्याङ्क देखिएको हो ।

उक्त तथ्याङ्क अनुसार सन् २०२० मा नेपालमा भएका आइटी कम्पनीले ८८ मिलियन अमेरिकी डलर (एक अर्ब १५ करोड ५४ लाख रुपैयाँ बढी) आम्दानी गरेका थिए । उक्त आम्दानी २६.८ प्रतिशतले बढेर २०२१ मा १११.५ मिलियन डलर (१४ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ) पुगेको थियो ।

सन् २०२२ मा ८०.५ प्रतिशत आइटी कम्पनीको आम्दानी बढेर २०१.३१ मिलियन डलर (२६ अर्ब ४३ करोड २० लाख रुपैयाँ) पुगेको तथ्याङ्कले देखाएको छ । त्यस्तै २०२० मा आइटी फ्रिलान्सरले ४३.२ मिलियन अमेरिकी डलर (करिब पाँच अर्ब ६७ करोड २१ लाख रुपैयाँ) आम्दानी गरेको देखिन्छ ।

उक्त आम्दानी २०२१ मा पहिलेको तुलनामा २१.९ प्रतिशतले बढ्दा ५२.७ मिलियन डलर (करिब छ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ) पुगेको थियो । सन् २०२२ मा आम्दानी ३२ प्रतिशतले बढ्दा आइटी फ्रिलान्सरबाट हुने आम्दानी ६९.६ मिलियन डलर (करिब नौ अर्ब १३ करोड ८४ लाख रुपैयाँ) पुगेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी २०२० मा सूचना तथा प्रविधिमार्फत सेवा दिने फ्रिलान्सर (आइटीइएस) ले १७७.१ मिलियन डलर (करिब २३ अर्ब २५ करोड ३२ लाख रुपैयाँ) आम्दानी गरेका थिए । उक्त आम्दानी २०२१ मा १५.५ प्रतिशतले घट्दा १४९.७ मिलियन डलर (१९ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ) पुगेको थियो ।

तथ्याङ्क अनुसार सन् २०२२ मा भने आइटीइसी फ्रिलान्सरको आम्दानी ६३.४ प्रतिशतले बढ्दा २४४.५ मिलियन डलर (३२ अर्ब १० करोड २८ लाख रुपैयाँ) पुगेको थियो । यो अनुसन्धानबाट उक्त संस्थाले आइटीसँग सम्बन्धीत सेवा निर्यात गरेर नेपालले वार्षिक ५१५ मिलियन अमेरिकी डलर (करिब ६७ करोड ६७ लाख रुपैयाँ) आम्दानी गरेको निष्कर्ष निकालेको छ ।

यसरी सेवा दिनेमा १०६ आइटी सेवा निर्यात गर्ने कम्पनी, १४ हजार ७२८ आइटी फ्रिलान्सर (सफ्टवेयर डेभलपमेन्ट एन्ड टेक्नोलोजी) र ५१ हजार ७८१ आइटीइएस फ्रिलान्सर (जसले विभिन्न डिजिटल प्लेटफर्मबाट आईटी सेवा निर्यात गर्छन्) रहेका छन् । यो रकम अघिल्ला वर्षहरूको तुलनामा ६४.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १८:३४