सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा यस वर्ष मलको अभाव नहुने

बाँकेमा यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार बाँकेमा हाल ७० मेट्रिक टन युरिया, २५ मेट्रिक टन डिएपी र ६० मेट्रिक टन पोटास गरेर १२५ मेट्रिक टन मल मौज्दातमा रहेको छ ।

प्रमुख पौडेलले मल लिन आउने किसानले यस पटक मल नपाएको गुनासो हालसम्म नगरेको जनाउँदै गत आर्थिक वर्ष २०७९/०८० मा चार हजार १२५ मेट्रिक टन मल वितरण गरिएकोले पनि अभाव नभएको बताए ।

उनले आर्थिक वर्ष २०७९/०८० मा एक सय ७ वटा सहकारीमार्फत् एक हजार ४५८ मेट्रिक टन डिएपी, दुई हजार ५५० मेट्रिक टन युरिया र ११७ टन पोटास वितरण गरिएको जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख पौडेलले अझै थप मल पनि आउने प्रक्रियामा रहेको र केही दिनमै आइसक्ने हुँदा झनै अभाव र समस्या नहुने बताए ।

दुर्गममा रहेको नरैनापुर लगायत केही पालिकमा समस्या रहेको गुनासो आएकोले नियमन पनि गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ ।

सो कार्यालयका अनुसार मल नपाएको वा दुरुपयोग भएका गुनासा पालिकामार्फत् वा स्वयम् प्रमाणसहित आएमा आवश्यक कारबाही गरिनेछ । त्यस्तो अवस्थामा डिलर खारेज गर्नेसम्मको कारबाही हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १८:१५