सूचनाको शक्ति - The Power Of Information

        

हिमाली जिल्ला हुम्लामा फल्यो अनार

हुम्लाको सर्केगार्डमा फलेर पाक्नै लागेको बोटमा लागेको अनार ।

मध्यपहाडी क्षेत्रमा फल्ने अनार हुम्लामा पनि फल्न थालेको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा पनि अनार फल्न सुरु भएको हो ।

सर्केगार्ड गाउँपालिका–४ को सर्केगाडकी हजारी शाहीले आफुले बारीमा लगाएको अनारको बोटमा फल फलेर पाक्न थालेको बताइन् । तीन वर्ष अगाडि लगाएको उनको अनारको बोटमा यस वर्षबाट अनार फल्न सुरु भएको हो ।

उनले फूल फुल्ने समयमा धेरै फुलेको भए पनि फल भने कम लागेको बताउँदै लागेको बोटका अनार पाक्न थालेको बताइन् । आफ्नो बारीमा चार वटा अनारका बोट लगाएकी थिइन् । यस वर्षबाट चारै बोटमा अनार फलेका छ । प्रत्येक बोटमा २५–३० दाना अनार फलेका छन् ।

त्यसैगरी सर्केगार्डका अन्य पाँच परिवारले पनि अनार खेती सुरु गरेको र सबै बोटमा थोरै भए पनि अनार फल्न सुरु भएको उनको भनाइ छ । अनार फल्न सुरु भएको तर बोटमै कुहिने र झर्ने समस्या देखिएको उनले बताइन् ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले सो क्षेत्र अनारखेतीका लागि उपयुक्त हुनुका साथै मौसममा आएको परिवर्तनका कारण अनार फल्न थालेको बताए । कृषि प्राबिधिकका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्छ ।

किसानले लगाएको अनार फल्न सुरु भएकोले कृषि शाखाका प्रमुख शाहीले अब सो क्षेत्रमा ब्यावसायिक अनारखेती सुरु गर्नु उपयुक्त हुने बताए । पाक्न थालेको अनार कुहिनुमा त्यो अनुसन्धानको बिषय हुने कृषि प्राबिधिकले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १६:५३