सूचनाको शक्ति - The Power Of Information

        

‘गिनिज बुक’लाई चुनौती दिने फिदिमे ‘टुप्पी बा’

पाँचथर फिदिमका स्थायी वासिन्दा हुन् यमनारायण भण्डारी । उनी यो क्षेत्रमा ‘टुप्पी बा’को नामले चर्चित छन् । उनको टुप्पीको लम्बाई नै ११ फिट छ । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को सूची हेर्ने हो भने उनको उमेरमा विश्वका कुनै व्यक्तिको यति लामो टुप्पी छैन । अहिले उनी ८३ वर्षमा प्रवेश गरेका छन् ।

यतिबेला फिदिमस्थित आफ्नै घरमा उनी आफ्नो दुबै आँखाको उपचार गरेर बसेका छन् । उनको श्रीमतिको निधन २ वर्ष अगाडि भएको थियो । बुढ्यौलीका कारण अलिकति कमजोर देखिएका यमनारायण भन्दै थिए, ‘पहिले ५० किलोको बोरा मज्जाले बोकेर घर ल्याइन्थ्यो । हिजोआज ३ केजी बोक्दा पनि स्वाँस्वाँ हुन्छ ।’

उनी दमको रोगका कारण अलि गलेको देखिन्छन् । यसबाहेक उनलाई कुनै किसिमको समस्या छैन । उनले आफ्नो टुप्पीलाई राम्रोसँग स्यहारेका छन् । यमनारायणले सानैदेखि टुप्पी नकाटेको बताए । ३५–४० वर्षको उमेरमा अग्लो रुखबाट लड्दा उनको साढे ५ फिट टुप्पी चुडिएको थियो । उनी आफ्नो टुप्पीको लम्बाई अलि कम हुनुको कारण त्यो घटना भएको सुनाउँछन् ।

बुढेसकालमा यति लामो टुप्पी पाल्नुको कारण सुनाउँदै उनले यसको श्रेय सपनालाई दिए । ‘एकदिन बिहानी मेरो सपनामा गेरुवस्त्र लगाएका एकजना साधु आए । उनले मलाई टुप्पी कहिले नकाटेस् र काइयो पनि नलगाएस् भने । झसङ् भएर आँखा खोल्दा ती साधु थिएनन् । यसपछि मैले कपालमा काइयो पनि लगाएको छैन । काटेको पनि छैन ।’

उनी अहिले साताको एक दिन बाल्टीमा कपाल राखेर नुहाउने गर्छन् । लुगा धोएजस्तै साबुन लगाएर छपछप गर्छन् । उनी कपाल नुहाएर सुकाउन २–३ घण्टाको समय लाग्ने बताउँछन् । ‘फिजाउन मिलेन । काइयो पनि लगाइन्न,’ उनले भने । उनी पहिले आफ्नो कपालको लम्बाई साढे ११ फिट भएको तर नुहाउँदा र सुकाउँदा कपाल झरेर ११ फिट भएको बताउँछन् ।

यमनारायण पहिले ढाका टोपीले आफ्नो टुप्पी छोप्ने गर्थे तर टुप्पीको लम्बाई बढ्न थालेपछि उनले ठूलो मक्कले टोपी लगाउन थालेका छन् । ‘ढाका टोपीमा टुप्पी अडिनै छोड्यो । टुप्पीको लम्बाईका कारण टोपी झरिहाल्ने । त्यसैले हिजोआज ठूलो घप्प परेको टोपी लगाउँछु ।’ गर्मी महिनामा पनि उनले टुप्पी अडाउन टोपी लगाउने गरेका छन् ।

अहिले टुप्पीमा बानी परिसकेको उनको भनाई छ । राती सुत्दा यसले कुनै किसिमको बाँधा नपुर्याउने उनी बताउँछन् । यमनारायणले युवा अवस्थामा जिल्ला विकाश समिति (जिविस) मा पिउनको काम गरेका थिए । पछि उनी जिल्ला प्रशासन कार्यालय (जिप्रका) मा सरुवा भए । जिप्रकामा काम गर्दा चिट्ठी बोकेर हिँड्दै ताप्लेजुङ, धनकुटा, तेह्रथुम र झापासम्म पुग्ने गरेको उनको भनाई थियो ।

‘त्यतिबेला गाडी चल्दैन्थ्यो । हिँड्दै सबैतिर पुग्नुपथ्र्यो । २ दिनमा झापा पुगेर फर्किन्थे,’ उनले पुरानो कुरा सुनाए । जिप्रका मै कार्यरत रहँदा आफ्नो टुप्पीको प्रसिद्धि बढेको उनले बताए । ‘मन्त्रीदेखि ठूलाबडा आउँदा जिप्रकाले बिदाई गर्ने चलन थियो । मेरो टुप्पी अगाडि उभिएर उहाँहरू फोटो खिचाउन खोज्नु हुन्थ्यो,’ उनले पुरानो कुरा सम्झिए ।

पछिल्लो समय राजा ज्ञानेन्द्रले फिदिमको यात्रा गर्दा आफूसँग फोटो खिचाएको उनी सम्झिन्छन् । ‘अ मैले फोटोमा देखेको भन्नुभयो,’ पूर्वराजासँगको संवाद उनले बताए । उनले टुप्पी पाल्नका लागि आफूले विशेष केही खानपिन नगरेको स्पष्ट पारे । ‘स्यहार सुसार गर्थे । खाना घरमा जे पाक्यो त्यही खाइन्छ ।’ ‘टुप्पी बा’का चार छोरी र एक छोरा गरी पाँच सन्तान छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १६:३०