सूचनाको शक्ति - The Power Of Information

        

धावनमार्गबाट दौड्दै आएर जहाजमा मुसा पसेपछि…

पोखराबाट काठमाडौं उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा पसेको छ । धावनमार्गबाट दौड्दै आएर रोकिरहेको जहाजको टायरबाट मुसा भित्र पसेको विमानस्थलको अनुमान छ ।

जहाज चढ्दै गरेका यात्रुले टायरमा मुसा पस्दै गरेको देखेपछि उड्न ठिक्क परेको जहाज पोखरामै रोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार जहाजमा ७० जना यात्रु थिए ।

यतीको ९ एन एएनजी कलसाइनको एटीआर–७२ को उडान नम्बर ६७८ जहाज बिहान ११ बजेर ५० मिनेटमा उड्ने तयारी गरिरहेको थियो । जहाजमा यात्रुहरु धमाधम जहाज चढिरहेका थिए । त्यही बेला जहाजमा मुसा पसेको देखिएपछि चढिसकेका सबै यात्रुलाई ओरालेर अहिले मुसा खोज्ने काम भइरहेको रेग्मीले बताइन् ।

‘जहाजको पांग्रातिर मुसा देखियो । भित्र पस्यो वा बाहिर गयो भन्ने यकिन भएन त्यसैले जहाजभित्रै मुसा पसेको अनुमानमा जहाज रोकिएको छ,’ रेग्मीले भनिन्, ‘अहिले यतीका प्राविधिक आएर धमाधम मुसा खोज्ने काम भएको छ ।’

यतीको अर्को जहाज आएर यात्रुलाई काठमाडौं लैजाने तयारी भएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले धावनमार्गबाट दौड्दै आएको मुसा जहाजको टायर वरिपरि देखिएपछि रोकिएको बताए । उनका अनुसार यात्रु जहाज चढिरहेको बेलामा मुसा देखिएको थियो ।

‘मुसा टायर वरिपरि घुमेमा देखियो, तर, बाहिर गएको देखिएन, त्यही भएर भित्र पसेको अनुमान हो । अहिले खोजी भइरहेको छ,’ प्रवक्ता बर्ताैलाले भने, ‘धावनमार्गको नजिकैको घाँसे मैदानबाट दौड्दै आएको मुसा जहाजमा छिरेको अनुमान छ ।’

यात्रुको झोलाबाट नभई धावनमार्गबाट आएको मुसा नै अत्तालिएर जहाजको टायरमा चढेको हुनसक्ने उनले बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले मुसा, कहिले चरा, स्याल, कुकुरले हैरान पारेको छ ।

उडान र अवतरण ज्यादै नै जोखिमपूर्ण बनाएको छ,’ उनले भने, ‘विमानस्थलको धावनमार्गबाट आएको मुसा जहाजमा छिरेको आशंका छ, तर, मारमा यती एयरलाइन्स परेको छ ।’ क्याटरिङ सप्लाई नभएकोले विमानस्थलको धावनमार्गबाटै मुसा दौड्दै आएको हुनसक्ने उनले बताए ।

श्रोतका अनुसार जहाजमा यात्रु चढिरहेका बेला मुसा देखिएको थियो । घाँसे मैदानबाट करिब २० मिटर पर जहाज रोकिएको थियो । त्यही घाँसे मैदानबाट मुसा आएको हुनसक्ने श्रोतले बतायो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १५:१३