सूचनाको शक्ति - The Power Of Information

        

सरकारले १४ दिनमा उठायो साढे १७ अर्ब राजस्व, छैन खर्चको हिसाब

सरकारले आर्थिक वर्षको पहिलो १४ दिनमा झण्डै साढे १७ अर्ब रुपैयाँ राजस्व उठाएको छ । कर र गैरकर राजस्वबाट सरकारलाई कूल १७ अर्ब ४० करोड ५० लाख रुपैयाँ आम्दानी भएको हो । यो अवधिमा कर राजस्वबाट सरकारलाई १६ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ आम्दानी भएको छ, जुन वार्षिक लक्ष्यको १.२६ प्रतिशत हो ।

चालू आर्थिक वर्षको अन्त्यसम्म १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ कर राजस्व उठाउने सरकारको लक्ष्य छ । गैरकर राजस्व शीर्षकबाट भने सरकारलाई निकै कम आम्दानी भएको छ । साउन १४ गतेसम्म यो शीर्षकमा ९४ करोड ८२ लाख अर्थात लक्ष्यको ०.८१ प्रतिशत राजस्व संकलन भएको हो ।

सरकारले आर्थिक वर्षभित्र १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ गैरकर राजस्व उठाउने लक्ष्य राखेको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले अद्यावधिक गरेको साउन १४ गतेसम्मको तथ्यांक अनुसार सरकारले हालसम्म वैदेशिक अनुदानमार्फत एक पैसा पनि प्राप्त गरेको छैन ।

अन्य शीर्षकबाट भने ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ प्राप्त भएको कार्यालयले वेभसाइटमा अद्यावधिक गराएको तथ्यांकमा उल्लेख छ । चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । २ खर्ब ७८ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ अन्तर पर्नेगरी घाटा बजेट ल्याएको सरकारले आर्थिक वर्षभर १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

तर आर्थिक मन्दी, बजेट कार्यान्वयनमा अलमल र कसिलो मौद्रिक नीतिले निम्त्याउने समस्याका कारण तोकिएको लक्ष्य भेट्न सरकारलाई मुस्किल पर्ने अनुमान छ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्षको पहिलो १४ दिनमा सरकारले कति रकम खर्च गर्न सक्यो भन्ने तथ्यांक भने सार्वजनिक गरेको छैन । तथ्यांक प्रविष्ट गर्न यसअघि पनि निकै कमजोर कार्यालयले सरकारी खर्चतर्फ साउन १४ गतेसम्मको कुनै विवरण राखेको छैन ।

सरकारले चालू आर्थिक वर्षका लागि चालूतर्फ ९ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको छ । पूँजीगततर्फ भने जम्मा ४ खर्ब ७१ अर्ब ६ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ । साँवाब्याज तिर्ने लगायत वित्तीय उत्तरदायित्वतर्फ ३ खर्ब ३० अर्ब ९१ करोड ७ लाख रुपैयाँ खर्च हुने सरकारी अनुमान छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १३:५२