सूचनाको शक्ति - The Power Of Information

        

जलवायु परिवर्तन

२० वर्षमा ५६ प्रतिशत समुद्रको रङ परिवर्तन

जलवायु परिवर्तन हुँदा विश्वको २५ प्रतिशत कार्बनडाइअक्साइड खिच्ने समुद्र पनि परिवर्तन भएको छ ।

वैज्ञानिकहरूले २० वर्षमा समुद्रको रङ परिवर्तन भई नीलोबाट हरियो भएको बताएका छन् । उनीहरूले यसको असर समुद्री जीव तथा सी–फुडमा आश्रित मानिसमा पर्ने पनि बताएका छन् । यसको कारण जलवायु परिवर्तन रहेको बताइएको छ ।

जलवायु परिवर्तनका कारण समुद्री सतहमा फाइटोप्लांकटन अर्थात् समुद्रमा पाइने साना बिरुवाजस्तो देखिने जीव बढेका छन् । यसले यिनले मरिन लाइफलाई नियन्त्रण गर्छन् । यी फाइटोप्लांकटनमा बिरुवामा झैं हरियो क्लोरोफिल हुन्छ, जसले गर्दा पानीको सतह हरियो देखिन्छ ।

वैज्ञानिकले समुद्रको रङ परिवर्तन हुनु खतराको संकेत भएको बताएका छन् । कारण, फाइटोप्लांकटन बढ्दा समुद्रमा मृत क्षेत्र (डेड जोन) बढिरहेको छ । यो मृत क्षेत्रमा समुद्री जीवले सास फेर्न सक्दैनन् र मर्छन् । वास्तवमा फाइटोप्लांकटनले कार्बनडाइअक्साइड लिएर अक्सिजन छोड्छन् ।

समुद्रमा बस्ने अन्य जीवले यही अक्सिजन लिन्छन् । फाइटोप्लांकटन बढ्दा समुद्रमा जीवजन्तुका लागि ठाउँ साँघुरो हुँदै गएको छ भने अक्सिजन पनि कम हुन थालेको छ । साथै मृत क्षेत्र पनि बन्दै गइरहेको वैज्ञानिकको ठहर छ ।

समुद्री रङ परिवर्तनको असर मानवमा

मानवजाति जीवनका लागि मरिन लाइफमा पनि आश्रित छ । उनीहरु सी–फुड खान्छन्, माछा पालन गर्छन् । पानी नजिक फलफूल उमार्छन् । समुद्रमा मृत क्षेत्र बन्दै जाँदा मरिन लाइफ समाप्त हुन्छ र मानव जीवन पनि कठिन बन्न सक्ने बताइन्छ ।

वैज्ञानिकका अनुसार पानीको रङ परिवर्तन भएको कुरा हामीले सजिलै देख्न भने सक्दैनौँ । यसको खुलासा सन् २००२–२०२२ सम्मको स्याटेलाइट डेटाबाट भएको छ । डेटाअनुसार ५६ प्रतिशत समुद्र नीलोबाट हरियो बनेको छ ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)की वैज्ञानिक स्टेफनी डुट्किविक्जले हामीले देखेको परिवर्तन आश्यर्च पार्नेभन्दा बढी डराउने खालको भएको बताउँछिन् । यो परिवर्तन जलवायु परिवर्तनले भएको र यसमा मानव क्रियाकलाप प्रमुख कारण रहेको उनको भनाइ छ । मानवले इकोसिस्टमलाई गम्भीर प्रभाव पारेको पनि उनको भनाइ छ ।

परिवर्तन हुँदै गइरहेको रङले इकोसिस्टमको अवस्था दर्शाउने भएकाले यसबारे चिन्ता गर्नुपर्ने बेला भएको वैज्ञानिकहरूको धारणा छ । उनीहरुका अनुसार जलवायु परिवर्तन हुँदा विश्वको २५ प्रतिशत कार्बनडाइअक्साइड खिच्ने समुद्र पनि परिवर्तन भएको छ । जसले गर्दा समुद्रको पानी पनि तातो हुँदै गइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १२:४०