महिला विश्वकप फुटबलमा आइतबार चार खेल हुँदैछ ।
आइतबार समुह ‘एच’ का दोस्रो चरणका दुई खेल हुनेछन् भने समुह ‘ए’ का अन्तिम चरणका खेलहरु पनि आइतबार नै हुनेछन् । समुह ‘एच’ का खेलहरुमा जर्मनी र कोलम्बिया भिड्दा दक्षिण कोरियाले मोरक्कोको सामना गर्नेछ । यो समुहमा पहिलो चरणका खेलहरुमा जर्मनी र कोलम्बिया विजयी भएका थिए ।
आइतबार नै हुने समुह ‘ए’ का खेलहरुमा नर्वे र फिलिपिन्स तथा स्विटजरल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । समुहमा दुई खेलबाट स्विटजरल्याण्डको चार अंक छ भने न्यजिल्याण्ड र फिलिपिन्सको ३–३ अंक छ । नर्वेको एक अंक मात्रै छ । समुहमा अन्तिम खेलपूर्व सबै चार टोली नकआउट चरणका पुग्ने होडमा जिवित छन् ।
महिला विश्वकप फुटबलमा शनिबार भएको खेलमा इटालीलाई ५–० ले हराउँदै स्विडेन नक आउट चरणमा पुगेको छ । शनिबारको अन्य खेलहरुमा फ्रान्सले ब्राजिललाई २–१ ले हराउँदा जमैकाले पानामामाथि १–० को जित निकालेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ