सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको सर्केगाडका दुई वटा गाउँमा बाढी पहिरोबाट क्षति

हुम्लाको सर्केगाड गाउँपालिकामा बाढी पहिरोले दुई गाउँमा ब्यापक क्षति पुर्‍याएको छ ।

सर्केगाड गाउँपालिकाको वडा नम्बर २ का रिप र वडा नम्बर ८ सर्केदेउ गाउँमा पहिरो जाँदा ब्यापक क्षति पुगेको खबर आएको हुम्ला जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरोबाट घर, जलविद्युत आयोजना, बाटोलगायत संरचनामा क्षति पुगेको तर, मानवीय क्षतिको भने खबर नआएको प्रहरीले जनाएको छ । रिप गाउँमा दुई वटा खोलाको बाढी गाउाँमा पसेपछि २५ जनालाई सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले जनाएको छ ।

जलविद्युत आयोजना बगाउँदा संचार सम्पर्क पनि टुटेको छ भने पहिरोले बाटो बगाउँदा प्रभावित स्थानमा पुग्न मुश्किल भएको छ ।

गत शुक्रबार नै बाढीले गाउँहरु खतरामा परेको सूचना आएपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली त्यसतर्फ गएको भए पछि बाटो बगाएका कारण सुरक्षाकर्मीहरु घटनास्थल पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतवार १०:२२