सूचनाको शक्ति - The Power Of Information

        

एमालेका युवा नेताहरु ‘दुनामा खाएर कुनामा बस्ने’ हैसियत पनि छैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

कांग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिष्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो ।

उनले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए ।

तर कांग्रेसका युवाहरुले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरु पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पारे । उनले अब कांग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरुले पार्टीका बैठकहरु लाईभ गर्ने दावी समेत गरे ।

महामन्त्री शर्माले भने, ‘लाईभ हुुनु ठूलो कुरा होइन । अब सबै दलको बैठक लाइभ होला । कांग्रेसले शुरु गर्यो । अरुतिर पनि दबाब पर्ला । कांग्रेसको लाइभ भएर भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यु भनेर प्रश्न गर्ने आँट गर्ला ?’

‘मैले त एमाले पार्टीका हाम्रो उमेरका साथीहरुलाई भने, ए कमरेड, पाको नेताहरु पनि छँदै हुनुहुन्छ । युवाहरु हामी पनि छौं भनेर यसो संसदीय दलमा खडा भएको भए हुन्थ्यो नि । हामी त सभापति देउवालाई जित्नुहुन्छ भन्ने थाहा थियो संसदीय दलमा,’ उनले भने ।

महामन्त्री शर्माले भने ‘युवाहरु छौं है हामी भन्ने सन्देश दिनका लागि गगन थापा उम्मेदवार बन्नुपर्छ भनेर खडा भएर प्रतिष्पर्धा गर्यौं त । शेरबहादुर देउवा र गगन थापासँगसँगै मुस्कुराउँदै उम्मेदवारी दर्ता गराउनु भयो ।’

महामन्त्री शर्माले कांग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए । निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उनले परीक्षामा उर्तीण हुन पढ्नुपर्ने भएकाले कांग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरलाई जोड दिने उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतवार ०९:१७