इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम ५ किलो ३६८ ग्रामसहित तिला गाउँपालिका–३ जुम्लाका ४१ वर्षीय हरिप्रसाद भट्टराई, सोही ठाउँका ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराईलाई नियन्त्रणमा लियो ।
गत असार २७ गते बाँके प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले नेपालगन्ज–१५ स्थित जमुनाह गाउँबाट भारतबाट नेपालतर्फ भारतीय मोटरसाइकलमा आउँदै गरेको अवस्थामा भारतीय नागरिक भारत रुपैडिहाका १९ वर्षीय जुनेद राई र सोही ठेगानाका १९ वर्षीय सलमान अलिलाई ४३ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
गत असार २६ गते कोहलपुर प्रहरीले नै कोहलपुर नगरपालिका–१ कौशिलानगरका २६ वर्षीय जीवन लामिछानेलाई बैजनाथ गाउँपालिका–४ नौलापुरस्थित लामिछानेको ससुराली घरको कोठाबाट २३ वटा प्लास्टिकको पुडियामा लुकाई राखेको एक ग्राम ९५० मिलिग्राम आगूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लियो ।
बाँकेमा पछिल्लो समय लागूऔषधको प्रयोग र कारोबार बढ्दैगएको यिनै घटनाबाट पनि अनुमान लगाउन सकिन्छ । भारतसँगको खुल्ला सिमानाका कारण र सीमामा चेकजाँचमा कडाइ नहुँदा नेपालका लागूऔषध प्रयोगकर्ता भारत र भारतका लागूऔषध प्रयोगकर्ता नेपालमा सजिलैसँग पुगी लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार गर्ने गरेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले पनि पछिल्लो समय बाँकेमा लागूऔषधको कारोबार बढेको देखाउँछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले गत आर्थिक वर्ष २०७९–०८० मा लागूऔषध सम्बन्धी १५७ वटा मुद्दा दर्ता भएको बताए । १५७ मुद्दामा १९ महिला र २१७ पुरुष गरी २३६ जनालाई पक्राउ गरिएको उनले बताए ।
त्यसैगरी आर्थिक वर्ष २०७८–०७९ मा लागूऔषध सम्बन्धी १३४ मुद्दामा १५ महिला र १९७ पुरुष गरी २१२ जनालाई पक्राउ गरिएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा १२६ मुद्दामा ११ महिला र १८५ पुरुष गरी १९६ जनालाई लागूऔषध कारोबारसम्बन्धी आरोपमा पक्राउ गरिएको डिएसपी डाँगीले बताए ।
तीन वर्षको यो तथ्याङ्कमा क्रमशः मुद्दा पनि बढेको र पक्राउ पर्नेको सङ्ख्या पनि बढेको देखिन्छ । प्रहरीको यो तथ्याङ्कले जिल्लामा लागूऔषधको प्रयोग तथा कारोबारको अवस्था कस्तो छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । आर्थिक वर्ष २०७७–०७८ मा ५७७ ग्राम ८३५ मिलिग्राम, २०७८–०७९ मा ९५८ ग्राम ७३० मिलिग्राम र २०७९–०८० मा ८८२ ग्राम २२ मिलिग्राम लागूऔषध ब्राउनसुगर बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आर्थिक वर्ष २०७७–०७८ मा २० किलो ३० ग्राम चरेश, ३४ किलो ५७४ ग्राम अफिम, ६८ किलो ४३ ग्राम गाँजा, ३९ लिटर ४ सय मिलिमिटर कोरेक्स, एक हजार ३३० नाइट्राजेपाम ट्याब्लेट, एक हजार ७० ट्रामाडोल ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।
त्यसैगरी २०७८–०७९ मा १४ किलो १५८ ग्राम चरेश, तीन किलो अफिम, २१५ किलो ४३० ग्राम गाँजा, आठ लिटर ४०० मिलिमिटर कोरेक्स, चार हजार २५ नाइट्राजेपाम ट्याब्लेट, दुई हजार ४३० ट्रामाडोल ट्याब्लेट र २०७९–०८० मा ६ किलो ८९५ ग्राम गाँजा, एक हजार ३२० नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
यो आर्थिक वर्षको सुरुवातमै पनि लागूऔषध सम्बन्धी कारोबार गर्नेलाई प्रहरीले आफ्नो पन्जामा पार्न सुरु गरिसकेको छ । जिल्लामा पछिल्लो समय बढ्दै गइरहेको लागूऔषधको कारोबारलाई न्यूनीकरण तथा नियन्त्रण गर्न प्रहरीले हरसम्भव कोसिस गरिरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घरपरिवार, टोल, समुदाय, विद्यालय लगायतका सार्वजनिकस्थलमा लागूऔषध सम्बन्धी जनचेतना फैलाउने कामहरू गरिरहेको प्रवक्ता डाँगीले बताए । जनचेतनाका साथसाथै तीव्र चेकजाँच गरी लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई मुद्दा अगाडि बढाइएको उनले बताए ।
‘लागूऔषध न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यकता अनुसार जिल्लाका विभिन्न सीमा नाकामा कडा चेकजाँच गर्छौँ र गरिरहेका छौँ, साथै जिल्लामा पहिलो पटक लागूपदार्थ सेवन (लापसे) चेकजाँच पनि सुरु गरेका छौँ, प्रहरीको मात्र एकल प्रयासले लागूऔषध नियन्त्रण गर्न गाह्रो हुन्छ, समुदायले पनि प्रहरीलाई साथ र सहयोग गर्नुपर्छ,’ डिएसपी डाँगीले भने ।
सत्यपाटी संवाददाता । बाँके