पाँच हजार बढी सदस्य सङ्ख्या रहेको बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा टेकनारायण भुसालले नेतृत्व गरेको लोकतान्त्रिक प्यानल विजयी भएको छ ।
आठ वर्षको अन्तरालपछि भएको निर्वाचनमा चार दलीय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारलाई पराजित गर्दै लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका हुन् ।
खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा भुसालले एक हजार २१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद खनालले एक हजार १७ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र प्यानलबाट उठेका विष्णु तिवारीले ३८२ मत प्राप्त गरे ।
त्यसैगरी लोकतान्त्रिक प्यानलबाटै उपाध्यक्षमा वीरबहादुर विष्ट एक हजार १४१, सचिवमा गोविन्द वाग्ले एक हजार ५६, कोषाध्यक्षमा ध्रुव आचार्य एक हजार १४३, सहसचिवमा बालकुमारी सापकोटा एक हजार १३४ र सहकोषाध्यक्षमा ईश्वरप्रसाद शर्मा एक हजार १६५ मतकासाथ विजयी भएका छन् ।
सदस्यमा झग्गुप्रसाद वली ९९२, चक्रदीप शाह ९९६, आशा घर्ती मगरले ९९४ तथा महिला सदस्यमा दिपाकुमारी बस्नेतले एक हजार ११६ र टिकादेवी सुनारले एक हजार ५२ मत प्राप्त गर्दै विजयी भएका छन् । पाँच हजार २७७ मतदाता रहेको सो संस्थामा दुई हजार ८८७ मत खसेको थियो ।
शुक्रबार रातिबाट सुरु भएको मतगणना शनिबार दिउँसो सम्पन्न भएको हो । अध्यक्षमा विजयी भएका भुसालले संक्षिप्त प्रतिक्रिया दिँदै आठ वर्षपछि आएर अहिले निर्वाचन सम्पन्न भएकोले अस्तव्यस्त रहेको कोहलपुरको खानेपानीको व्यवस्थालाई आम उपभोक्ताका लागि सर्वसुलभ र सहज बनाइने बताए ।
सत्यपाटी संवाददाता । बाँके