सूचनाको शक्ति - The Power Of Information

        

कोशीमा सरकारविहीनता, ‘कार्कीलाई न मुख्यमन्त्रीको मान्यता, न सेनाको टुकडी’

सर्वोच्च अदालतको बिहीबारको फैसलाबाट नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता नेतृत्वको सरकार अवैधानिक भएसँगै कोशी प्रदेशको काम चलाउ सरकारको मुख्यमन्त्रीमा स्वत दावी गर्दै विराटनगर पुगेका नेकपा एमालेको प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको निवासबाट नेपाली सेनाको टुकडी फर्किएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि प्रदेशमा काम चलाउ सरकारको नेतृत्व सम्हाल्न विराटनगर पुगेका कार्कीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारीहरुले गाडी नपठाएपछि उनी आफ्नो निवासतर्फ गएका थिए ।

सर्वोच्च अदालतको बिहीबारको फैसलापछि कार्कीको विराटनगर महानगरपालिका–३ स्थित पिपल चोकमा रहेको निवासमा शुक्रबार अपराह्न ४ बजेदेखि जमदारको नेतृत्वमा रहेको सेनाको टुकडीले सुरक्षा दिन थालेको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङले आफूलाई कमचलाउ सरकारको मुख्यमन्त्री भएको औपचारिक जानकारी दिएपछि कार्यालय जाने तयारीमा कार्की रहेका थिए, तर खापुङ कामचलाउ मुख्यमन्त्रीको बारेमा मौन रहे ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गरेर सार्वेच्चले भने नेपालको संविधान २०७२ को धारा १६८ (२) बामोजिम नयाँ मुख्यमन्त्री दाबी गर्नका लागि प्रदेश प्रमुख खापुङले साउन १६ गते साँझ ५ बजेसम्मको समय तोकेको जानकारी गराए । यससँगै यो बीचको समयमा कोशी प्रदेश सरकारविहीनताको अवस्थामा पुगेको छ ।

प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नतोकेसँगै शुक्रबार अपरान्हदेखि कार्कीको निवास सुरक्षामा ख टिएको सेनाको टुकडी शनिबार बिहान फर्किएको छ । सर्वोच्च अदालतले अपदस्त गरेका मुख्यमन्त्री यद्धव थापाले पनि मुख्यमन्त्री निवास छोडेका छैनन् । जसले गर्दा कोशी प्रदेशको कामचलाउ सरकारको मुख्यमन्त्री को हो ? भन्ने विवादले नयाँ रुप लिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १२:०४