सूचनाको शक्ति - The Power Of Information

        

अब खजुरामै ब्लड क्यान्सरको उपचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले पहिलो पटक विभिन्न प्रकारका रक्त क्यान्सरको उपचार सुरु गरेको जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा. निरज भट्टराईले ब्लड क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालमा छुट्टै ‘हेमाटो अनकोलोजी वार्ड’ सञ्चालन गरेर पहिलो पटक सो उपचार सुरु गरिएको बताए ।

उनले जनशक्तिको अभावले गर्दा गर्न खोजेको धेरै काम गर्न नसके पनि सीमित जनशक्ति र स्रोतबाटै यस क्षेत्रका बिरामीलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यसहित काम गरिरहेको बताए । डा.भट्टराईले ब्लड क्यान्सरका बिरामीको उपचारमा मेडिकल अनकोलोजी विभागका डा.साजन थापासहित डा.क्रिष्टिन श्रेष्ठ र डा.खोम चौधरी संलग्न रहेको जानकारी दिए ।

गत केही वर्षदेखि भेरी अस्पतालमा थन्किएर रहेको रगतको पार्टस छुट्याउने काम गर्ने महत्त्वपूर्ण उपकरण ‘अफेरिसिस’ मेसिन स्वास्थ्य सेवा विभागसँगको समन्वयमा प्राप्त भएपछि उपचार सुरु गर्न सहज भएको अस्पतालले जनाएको छ ।

मेडिकल अनकोलोजी विभागका डा. साजन थापाले रक्त क्यान्सर निकै जोखिमपूर्ण हुने हुँदा त्यसको उपचारमा धेरै विचार पुर्याउनुपर्ने भएकोले आफूहरुले गरेको कामको गुणस्तरीयता परीक्षणका लागि भरतपुर चितवन अस्पतालबाट केही दिनमै विशेषज्ञ डा.जया श्रेष्ठलाई बोलाएर परीक्षण गराउने बताए ।

उनले अहिले वार्डमा दुई जना बिरामी भर्ना गरिएको जनाउँदै उनीहरुको उपचार सुरु भएको बताए । अस्पताल परिसरभित्रै निकट भविष्यमै ब्लड बैंक सञ्चालन गर्नेगरी तयारी पनि चलिरहेको छ । पश्चिम नेपालबाट क्यान्सर उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र चितवनको भरतपुर जानुपर्ने बाध्यता थियो ।

अस्पताल प्रमुख डा.भट्टराईले गम्भीर अवस्थाका बिरामीका लागि अत्याधुनिक आईसियु पनि सञ्चालनमा आइसकेको र क्यान्सरको उपचारको लागि निकै महत्त्वपूर्ण मानिने मेसिन जडान अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ११:३०