सूचनाको शक्ति - The Power Of Information

        

हाकिमले ‘तिम्रो काम छैन’ भनेपछि युवाले सुरु गरे ‘कामै नगर्ने’ व्यवसाय

हप्ताको ५ वा ६ दिन जागिर गर्नुहोस्, त्यसपछि महिनाको अन्त्यमा तलब पाउनुहुनेछ । हप्ताभरि मेहनत गर्नुहोस् र हाकिमलाई आफ्नो कामले खुसी राख्नुहोस् । विश्वभरिका जागिरेहरूको अवस्था यस्तै छ । कतै दैनिक, कतै साप्ताहिक त कतै मासिक वा वार्षिक रूपमा कामको रिपोर्ट पनि मागिन्छ ।

निश्चित समयमा कसले कति काम गरे भनेर पल पलको हिसाब राखिन्छ । आजको समयमा कुनै पनि अफिस वा व्यापारमा ‘काम’ गरे मात्रै पैसा पाइन्छ । पूरा कर्पोरेट कल्चर ‘काम’ को वरिपरि नै घुम्छ । तर जापानका एक व्यक्तिले काम नगरेका कारण पैसा कमाइरहेका छन् । यो उनको हठात् निर्णय पनि थिएन ।

उनले निधै सोचेर ‘केही नगर्ने’ लाई आफ्नो करियर बनाएका हुन् । आज त्यही व्यक्ति जागिरको नाममा ‘केही पनि नगर्ने’ काम गर्छन् र दिनको २४ देखि ३२ हजार रुपैयाँ कमाइरहेका छन् । यसैबाट उनको घर खर्च चलिरहेको छ । उनी भविष्यमा पनि यही कामलाई निरन्तरता दिने पक्षमा छन् ।

हाकिमले भने, ‘तिमी कामलाग्दो छैनौँ’, त्यसपछि उनले यसलाई करियर बनाए

टोकियोमा बस्ने शोजी मारिमातोलाई एक साधारण जापानी युवकलाई झैँ हुर्काइएको थियो । कामको समय कडाइका साथ पालना गर्न र सबैभन्दा कठिन परिस्थितिमा बिदा नलिन उनलाई पनि सिकाइएको थियो । सुरुमा उनले त्यसै गरे । तर उनलाई यो भागदौडयुक्त जीवनदेखि वाक्क लाग्यो । उनलाई खाली बस्न मन पर्न थाल्यो ।

उनलाई यस्तो जीवन रत्तीभर पनि मन परेन । यस्तोमा एक दिन कार्यालयमा उनले गाली खाए । शोजीको कामले रिसाएका हाकिमले उनलाई भने, ‘तिमी कामलाग्दो छैनौ ।’ यो कुरा शोजीको मनमा बिझ्यो । यसै कारण उनले ‘काम नगर्ने’ क्षेत्रमा आफ्नो करियर बनाउने विचार गरे । शोजीका अनुसार उनी आफ्नो ‘केही नगर्ने’ बानीलाई समाजको हितमा प्रयोग गर्न चाहन्थे ।

यसरी चल्छ ‘केही नगर्ने’ व्यवसाय

जागिर छोडेपछि शोजीले आफूलाई भाडामा राख्न सुरु गरे । उनी एक्लोपनसँग जुधिरहेका मानिसलाई आफ्नो समय दिन्छन् । यस अवधिमा उनले मानिससँग कतै गएर बस्नुपर्ने पनि हुन्छ । बिहान वा बेलुकाको खाना खानु पनि पर्न पर्छ ।

यतिबेला शोजी आफैँले केही पनि कुरा गर्दैनन् । बुकिङ गर्ने मान्छेले केही भनेँ भने त्यो सुन्ने गर्छन् र बोलिहाले पनि ‘हो’ वा ‘होइन’ मा जवाफ दिन्छन् । जापानी मिडियाको एक रिपोर्ट अनुसार शोजीलाई भाडामा लिने धेरै मानिसहरू एक्लै कतै जान लजाउँछन् वा अप्ठेरो मान्छन् ।

यस्तोमा उनीहरुले शोजीलाई पैसा दिएर आफूसँग लिएर जान्छन् । शोजीले हरेक दिन यस्ता १ देखि ३ ग्राहक पाउँछन् । हरेक ग्राहकसँग शोजीले १० हजार येन (लगभग १० हजार रुपैयाँ) लिने गर्छन् । रेस्टुरेन्टमा खाने, घुम्ने र यातायात खर्च पनि ग्राहकले नै वहन गर्छन् ।

आफूलाई बिदाइ गर्न भाडामा लिए

एक व्यक्तिले आफूलाई बिदाइ गर्न शोजीलाई भाडामा लिए । ती व्यक्ति सधैँका लागि टोकियोबाट ओसाका जाँदै थिए । कसैले आफूलाई स्टेसनमा आएर बिदाइ गरोस् भन्ने उनको चाहना थियो, त्यसैले शोजीले स्टेसन गएर उनलाई ‘बाई’ भने । यत्ति गरेबापत शोजीले लगभग १३ हजार रुपैयाँ पाए ।

जापानमा भाडामा पाइन्छ ‘सम्बन्ध’

जापानमा भाडामा भाई, बहिनी, प्रेमिका, प्रेमी लिनु नयाँ कुरा होइन । एक्लोपनसँग जुधिरहेका धेरैजसो जापानीले यस्तो गर्छन् । यस्तो व्यवसायमा लागेका मानिसले पैसा लिएर भाई, बहिनी, प्रेमिका वा प्रेमीजस्ता सम्बन्धको नाटक गर्छन् ।

यो देखावटीका लागि मात्रै हुन्छ । जसमा ‘व्यावसायिक आफन्त’ निश्चित समयका लागि आफ्नो सम्बन्ध निभाउँछन् । तर शोजीको शैली आफ्नै छ । उनी आफ्नो कुनै पनि ग्राहकसँग कुनै प्रतिबद्धता गर्दैनन् । उनी आफ्नो उपस्थितिका लागि मात्रै पैसा लिन्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ०९:३०