सूचनाको शक्ति - The Power Of Information

        

कालीगण्डकीमा बोलेरो खस्यो, अवस्था अज्ञात

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ । अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग २ च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो ।

सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । ‘भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ,’ उनले भने, ‘जीप र चालकको अवस्था अज्ञात छ ।’

प्रहरी, स्थानीय र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन् । सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुर्याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो । तीन बजेपछि सम्पर्क नभएको उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ०८:३६