नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्।
लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्।
२०७० सालयताको विवरणलाई हेर्ने हो भने लगानीकर्ताहरू कुनै न कुनै रूपमा जोगिने र बिचौलियाको भूमिकामा रहने तथा कमिसनको लोभमा तस्करीको सुनलाई तोकिएको स्थानसम्म पुर्याउनेहरू मात्रै पक्राउ पर्ने गरेका छन्।
नेपाल प्रहरीका अनुसार एक दशकको अन्तरालमा करिब ८ सय जना व्यक्तिहरू सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। प्रहरी र कर्मचारीबाहेकलाई हेर्ने हो भने ७ सय २२ जना यो प्रकरणमा पक्राउ परेका छन्। तर, उनीहरूमध्ये करिब ८० प्रतिशत भरिया मात्रै हुन्।
२०७० असार २६ गते चीनको खासाबाट नेपाल ल्याइएको ३५ किलो सुन बा ३ ख २५७० नम्बरको टाटा बक्स कन्टेनरबाट तीन जना व्यक्तिको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कोटेश्वरबाट बरामद गरेको थियो।
सुन बरामद भएपछि कन्टेनरका चालक निमा छिरिङलाई समेत प्रहरीले नियन्त्रणमा लियो। चालक निमाको बयानका आधारमा सुनका एमके भनिने मोहन अग्रवाल, कन्टेनरका मालिक ओमबहादुर बज्राचार्य, घ्याम्पे लामालाई प्रहरीले पक्राउ गरेको थियो। तीनै जना जिल्ला अदालतको आदेशअनुसार धरौटीमा छुटे।
सत्यपाटी संवाददाता । काठमाडौँ